बिमल योगी/ दाङ
साउन,२५ । दाङको बिकट पहाडी गा.वि.स.हाँसीपुरका स्थानिय नागरिकहरुले सडकको अवस्था सुधार गरी बाह्रै महिना यातायातका साधन चल्ने बातावरण बनाउन माग गरेका छन । यु.एस.ए.आई.डी. साझेदारी बिकास परियोजनाको सहयोग,व्याकवार्ड सोसाइटी एजुकेशन बेसको समन्वय र हाँसीपुर गा.वि.स.को आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने स्थानियले यस्तो बताएका हुन । हिउदको समयमा घोराही रामपुरदेखी हाँसीपुर बिर्खे सम्म गाडी चल्ने गरेको भएपनि बर्षातको समयमा मुलावारीदेखी माथी गाडी नजादा स्थानियलाई आवतजावत गर्न तथा खाद्यन्नका सामान लैजान समस्या परेको उनिहरुले बताएका छन ।

सडक मर्मत सुधारका लागी बर्षेनी लाखौ रकम बिनियोजन भएपनि सडक अवस्था जस्ताको तस्तै रहेको हाँसीपुर ३ का लालबहादुर बुढाले बताउनुभयो । बजेट आएपछि स्थानियलाई देखाउनका लागी डोजरले खने जस्तो गर्ने तर नियमित रुपमा गाडी चल्ने किसिमले सडक बनाउन कसैले पनि ध्यान पू¥याउन नसकेको उहाँको भनाई छ । यस्तै स्थानिय उपभोक्ता टेकबहादुर बि.क.ले हाँसीपुर भौगोलिक रुपमा सवै भन्दा पछि परेको गा.वि.स.रहेको भएपनि यहाँका राजनितिक दल,स्थानिय नागरिक एकजुट हुन नसक्दा हाल सम्म पनि सवै वडामा बाटो र बिजुलीको पुग्न नसकेको बताउनुभयो ।
पछिल्लो समयमा हाँसीपुर गा.वि.स.मा पूर्व र पश्चिमी क्षेत्रको भावनाको बिकास हुदै गएको भन्दै उहाँले यस्तो धारणा नत्यागे सम्म बिकासले गति लिन नसक्ने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा अन्य सहभागीले गा.वि.स.कार्यालय नियमित नखुल्दा काममा समस्या आएको,कार्यालय परिसरमा सरसफाई नभएको,सामाजिक सुरक्षा भत्ता बितरणका लागी गाँउ गाँउमा कर्मचारी नगएको लगायतका गुनासो राखेका थिए । हाँसीपुर ४ का ७३ बर्षिय जेष्ठ नागरिक शोभानाथ कवरले भत्ता पाइरहेका बृद्धबृद्धा मरेको अवस्था जुन महिना मरेको हो सो महिना सम्म भत्ता नपाएको बताउनुभयो ।
उहाँले गा.वि.स.का कर्मचारीले सामाजिक सुरक्षा भत्ता वडा वडामा गएर बितरण नगर्दा धेरै बृद्धबृद्धाको भत्ता फिर्ता गएको भन्दै आगामी दिनमा गाँउ गाँउमा गएर बितरण गर्न अनुरोध गर्नुभयो । यस्तै वडा नागरिक मञ्च ६ का संयोजक खिमा डागीले स्वास्थ्य चौकी हाँसीपुरले तोकिएको समयमा खोप क्लीनिक मार्फत सेवा नदिएको गुनासो गर्नुभयो । प्रत्येक महिनाको १३ गते तोकिएको खोप केन्द्रमा मासिका नजादा आमा तथा बच्चाले खोप लगाउन नपाएको उहाँको भनाइ छ ।
गा.वि.स.का सामाजिक परिचालक गोविन्द पुनले बिषय प्रवेश गराउनुभएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकको गुनासोको जवाफ दिदै गा.वि.स.सचिव केशवराज थापाले सेवाग्राहीको समस्यालाई ध्यानमा राखी कार्यालय नियमित खोल्ने, सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई प्रभावकारी बनाउने, गा.वि.स.को आन्तरिक श्रोत बृद्ध गरी गा.वि.स.मा सडक तथा बिजुली पू¥याउनका लागी पहल गर्ने,भाडामा सञ्चालन भैरहेको गा.वि.स.को कामकाजलाई व्यस्थित पार्न आफ्नै भवन बनाउन लागी पर्ने लगायतका प्रतिवद्धता जनाउनुभयो । यस्तै स्वास्थ्य चौकी हासीपुरका प्रमुख बच्चा बावु शाह कानुले खोप केन्द्रमा कर्मचारीको गएनगएको वारेमा तत्काल छानविन गर्ने र आगामी दिनमा यस्तो अवस्था आउन नदिन भुमिका खेल्ने प्रतिवद्धतना जनाउनुभयो ।
यस्तै प्रहरी चौकी हासीपुरका प्रमुख धर्मबहादुर खड्काले गा.वि.स.मा शान्ति सुरक्षा कायम राख्न प्रहरी सक्रिय रहेको भन्दै जनताको साथ र सहयोग पाएमा हासीपुरका आपराधिक घटना हुन नदिने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस हाँसीपुरका प्रतिनिधि ओमप्रकाश गाहा,नेकपा एमालेका पूर्व क्षेत्रिय कमीटी अध्यक्ष तथा निवर्तमान गा.वि.स.अध्यक्ष हेमराज पुन,नेकपा माओबादी केन्द्रका प्रतिनिधि गिरिराज बाठा लगायतले बिकासका काममा राजनिति नगर्ने प्रतिवद्धता जनाउनुभएको थियो । बेसका समाज परिचालक भिष्म चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार बिमल योगीले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा ४१ जना महिला र ६४ जना पुरुष गरी एक सय पाँच जनाको सहभागिता रहेको थियो ।।











