काठमाडौं कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ भन्दा बढी घाइते भएका छन्।
कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेको चोको प्रान्तको पूर्वोत्तर सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै, जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
घटनालगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यको नेतृत्व आफैँ सम्हाल्ने बताएका छन्। भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो।











