फारम भर्न राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायत यातायात सम्बन्धी सेवामा नयाँ अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । यातायात सम्बन्धी सेवालाई थप व्यवस्थित गर्न २०८३ साउन १ गते देखि लागु भएको नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
नयाँ प्रणालीमा लाइसेन्सको नयाँ फारम भर्न र विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र, आफ्नै नाममा रहेको मोबाइल नम्बर र इमेल अनिवार्य गरिएको छ ।
सर्भर अपग्रेड र नयाँ प्रणाली लागु गर्ने सन्दर्भमा सिस्टम डाउन भएर देशभरका यातायात कार्यालयमा साउन १ गतेदेखि करिब ३ साता यातायात सम्बन्धी सबै सेवा रोकिएका थिए । तर अहिले सेवा सञ्चालनमा आइसकेको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले बताएका छन् ।
विभागका अनुसार नयाँ अनलाइन प्रणालीलाई नागरिक एप, राष्ट्रिय परिचयपत्र तथा मोबाइल फोन सेवा प्रदायकको प्रणालीसँग एकीकृत गरिएको छ । अब नागरिक एपमार्फत सेवाग्राहीको विवरण स्वतः भरिने व्यवस्था मिलाइएको छ ।
सेवाग्राहीले आफ्नो विवरण अद्यावधिक गर्न वा नयाँ आवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर, आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर र इमेल अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
सात प्रदेशका छुट्टाछुट्टै वेबसाइट
नयाँ प्रणाली कार्यान्वयनसँगै विभागले प्रदेश अनुसार अनलाइन फारम भर्न छुट्टाछुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले अब आफूलाई पायक पर्ने प्रदेशको लिंकमा गएर फारम भर्न सक्नेछन् ।
कोशी प्रदेश : edlvrs.koshi.gov.np
मधेश प्रदेशः edlvrs.madhesh.gov.np
बागमती प्रदेशः edlvrs.bagamati.gov.np
गण्डकी प्रदेशः edlvrs.gandaki.gov.np
लुम्बिनी प्रदेशः edlvrs.lumbini.gov.np
कर्णाली प्रदेशः edlvrs.karnali.gov.np
सुदूरपश्चिम प्रदेशः edlvrs.sudurpashchim.gov.np











