Brightly coloured parrot snake

डा.अवधेषकान्त झा /जनकपुर अञ्चल अस्पताल
गर्मी र वर्षायाममा तराई र भित्री मधेसमा सर्पको टोकाइले बर्सेनि कैयौँको मृत्यु भइरहेको छ । मधेस क्षेत्रमा पाइने सर्प बढी विषालु हुने भएकाले खतरा पनि बढी भएको हो । तर, चिकित्सकका अनुसार मधेसमा पाइने सबै सर्प विषालु नै हुन्छन् भन्ने छैन । घाउ हेरेरै पनि विषालु सर्पले टोकेको भन्ने छुट्याउन सकिन्छ । कतिपय अवस्थामा अरू नै चिजले टोक्ने र सर्पले टोक्यो भनेर डराउने गरेको पनि पाइन्छ । सर्पबारे राम्रोसाग जानकारी राख्दा समस्याको समाधान सहज तरिकाले खोज्न सकिन्छ । जनकपुर अञ्चल अस्पतालका डा। अवधेषकान्त झाले विषालु सर्प र त्यसको टोकाइ थाहा पाउने तरिकाबारे जानकारी दिएका छन् ।

यी सर्प विषालु
नेपालमा तराईदेखि ४८ सय मिटरको उचाइसम्म करिब ७९ प्रजातिका सर्प पाइन्छन् । यीमध्ये २१ थरीका सर्प विषालु छन् । विषालु सर्प मुख्यतस् दुई समूहका हुन्छन्– इलापिडे परिवार र भाइपरिडे परिवार । इलापिडे परिवारमा किङ कोब्रा, गोमन, करेत पर्छन् भने भाइपरिडेमा भाइपररबाधे, पिट भाइपर पर्छन् । करेत, गोमन र भाइपर प्रजातिका सर्पको प्रभाव नेपालमा बढी देखिएको छ । विशेषगरी, २६ जिल्ला विषालु सर्पबाट प्रभावित छन् । विषालु सर्पका विष सामान्यतया दुई प्रकारका हुन्छन्– न्युरोटक्सिक र हेमाटोटक्सिक । गोमन र करेत दुवै न्युरोटक्सिक समूहमा पर्छन् भने भाइपर हेमाटोटक्सिकमा पर्छ ।

नेपालमा हरेक वर्ष करिब २० हजारभन्दा बढी सर्पदंशका घटना हुने गरेको छ । यसमध्ये दुई हजारजनाले बर्सेनि ज्यान गुमाउने गरेको अनुमानित तथ्यांक छ । मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाइ देखिन्छ । सबै विषालु सर्प चिन्ने ठ्याक्कै कुनै तरिका हुँदैन । तर, केहीको भने विशेष गुणका आधारमा चिन्न सकिन्छ । जस्तै स् गोमन रिसाएका वेला आफ्नो टाउको उठाएर फिँजाउने गर्छ, करेत र भाइपरको शरीरमा कालो र सेतो छिर्केमिर्के दाग–धब्बा हुन्छन् ।

डसेको ठाउँको चिह्न र लक्षण
सर्प भन्नेबित्तिकै विषालु नै हुन्छ भन्ने विश्वास व्याप्त देखिन्छ । त्यसैले जुनसुकै सर्पले टोक्दा पनि अत्यधिक डरका कारण केही लक्षण देखिन सक्छ । छिटोछिटो श्वास फेर्ने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुँदै जाने, रक्तचाप घट्ने, बेहोस हुनेजस्ता लक्षण अनावश्यक डरकै कारण देखिने गर्छ । विष नभएको सर्पले टोक्दा पनि धेरै डराएमा यी लक्षण देखिन सक्छ ।

डसेको भागमा सर्पको दाँतको चिह्न देखिन सक्छ । तर, यो सधैँ देखिन्छ नै भन्ने पनि हुँदैन । डसेको भाग दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, नीलडाम बस्ने नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने र पछि गएर डसेको ठाउँमा संक्रमण हुने, पाक्ने र अंग नै कुहिने पनि हुन्छ । विशेषगरी, भाइपर र गोमनको डसाइमा यस्तो हुने गर्छ ।

बिरामीमा देखिने लक्षण
विषालु सर्पले टोकेपछि बिरामीको शरीरमा लक्षण देखिन थाल्छ । वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने, डसेको घाउबाट रगत बग्ने, गिजा–नाक–मुखबाट रगत बग्ने, छालामा मसिना र ठूल्ठूला राता दाग देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने, मस्तिष्कमा रगत बग्नेजस्ता लक्षण देखिन्छन् । रगत बग्ने लक्षण मुख्यतस् भाइपर जातका सर्पको डसाइमा देखिने गर्छ । किनभने, यिनीहरूको विष हेमाटोटक्सिक अर्थात् रगत जम्ने क्षमतामा असर गर्ने खालका हुन्छन् ।

यस्तै, गोमन र करेतको विष न्युरोटक्सिक अर्थात् स्नायुमा असर गर्ने र प्यारालाइसिस गराउने खालका हुन्छन् । यी सर्पको डसाइमा हातखुट्टा झमझमाउने, स्वाद लिने र सुँघ्ने शक्तिमा ह्रास आउँदै जाने, आँखाको ढकनी भारी हुने, स्वर परिवर्तन हुँदै जाने, बोल्न असहज हुने, थुक निल्न गाह्रो हुने, मुखबाट र्‍याल बगिरहने, श्वास फेर्न गाह्रो हुने, हातखुट्टा लुलो हुने र पूरै शरीर प्यारालाइसिस हुने लक्षण देखिन्छन् । लामो समयपछि पनि डसेको ठाउँको मांसपेशी मरेर जाने, अंग काम नलाग्ने हुने, स्नायुमा असर गरेर वा मस्तिष्कका रगतका नली फुटेर रगत बगी हातखुट्टा नचल्ने, मिर्गौलाले काम नगर्ने खतरा पनि यी सर्पको डसाइबाट निम्तिन सक्छ ।

टोकाइबाट बच्ने उपाय
प्रायस् सर्प रिसाहा हुँदैनन् र मानिसलाई त्यसै टोक्दैनन् । केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानीरनजानी मानिसले चलाएमा आफ्नो ज्यान रक्षाका लागि सर्पले टोक्ने गर्छ । टोकाइको सिकार विशेषगरी खेतबारीमा काम गर्ने व्यक्ति हुने गर्छन् । त्यसैले आफ्नो ठाउँवरिपरि पाइने सर्पबारे जानकारी राख्ने गर्नुपर्छ । वर्षा या रोपाईंका वेला विशेष ध्यान पुर्‍याउनुपर्छ किनभने, सर्प बाहिर निस्किने समय यही हो । राति उज्यालो साधन लिएर मात्रै बाहिर निस्किनुपर्छ । एक अध्ययनअनुसार विषालु सर्पको डसाइको करिब ७५ प्रतिशत घटना रातको समयमा भएको पाइन्छ । सर्प हुनसक्ने अनुमान गरिएको ठाउँमा जाँदा घुँडासम्म आउने छालाको जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ । जिउँदो, मरेको वा मरेकोजस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुन्न । मरेको सर्पको विषले पनि असर गर्न सक्छ । भुइँमा नसुत्ने, झुलभित्र सुत्ने, जुत्ता लगाउनुअघि राम्रोसँग हेर्ने, भ्यागुता, मुसा, चरा, छेपारोजस्ता सर्पका आहारालाई घरभित्र रहन नदिने, घरको झ्याल–ढोकामा जारी राख्ने कुरामा पनि विशेष विचार पुर्‍याउनुपर्छ ।

विषालु सर्पले टोकेपछि बच्न
सर्पले डसेको व्यक्ति आत्तिनु र टोकेको भाग धेरै चलाउनु राम्रो होइन । टोकेको भाग चलाउँदा विष छिटो रगत र लिम्फमा फैलिने खतरा रहन्छ । हातखुट्टामा टोकेको छ भने स्लिङ वा स्पिलिन्ट लगाएर नचलाई राख्नुपर्छ । गोमन र करेतले टोकेको हो भने टोकेको भागभन्दा हल्का माथि दबाब पर्ने गरी ब्यान्डेज बाँध्नुपर्छ । यसलाई प्रेसर इमोबिलाइजेसन विधि भनिन्छ । एकै ठाउँमा निकै कसेर भने बाँध्नु हुँदैन, किनभने घाउमुनिको भागमा रक्तसञ्चार बन्द भएर बिरामीको ज्यान जानसक्छ । विषको लक्षण कम नभएसम्म या एन्टिस्नेक भेनम ९प्रतिविष०को प्रयोग सुरु नभएसम्म ब्यान्डेज खोल्नु हुँदैन । अस्पताल टाढा हुँदाको अवस्थामा यी काम गर्ने हो ।

Brightly coloured parrot snake

यसपछि जतिसक्दो छिटो प्रतिविष उपलब्ध भएको अस्पताल पुर्‍याउनुपर्छ । प्रतिविषको प्रयोग बिरामीको अन्तिम र एक मात्र उपचार हो । तर, कुन बिरामीलाई यो चलाउने र कुनलाई नचलाउने भन्ने पाटो महत्त्वपूर्ण हो । नेपालमा प्रयोग गरिने प्रतिविष ९पोलिभेलेन्ट एन्टिस्नेक भेनम०ले चार प्रकारका विषालु सर्प ९गोमन, करेत, रसेल्स भाइपर र सस्केल्ड भाइपर०को टोकाइमा काम गर्छ । तर, यसका पनि खराबी छन् । त्यसैले विषको असर नदेखिएसम्म या विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिविष प्रयोग गर्नु राम्रो होइन । यसले केही बिरामीमा हाइपरसेन्सिटिभिटी रियाक्सन गर्ने भएकाले दिनुअघि एड्रेनालिन औषधि तयारी अवस्थामा राख्नुपर्छ । बच्चा र वयस्कलाई प्रयोग गर्ने प्रतिविषको मात्रा एउटै हुन्छ ।

गर्न नहुने काम
टोकेको ठाउँमा चिरेर रगत बगाउने गर्दा विषभन्दा रगत बाहिरिएर बिरामीको मृत्यु हुनसक्छ । मुखले चुसेर विष निकाल्दा चुस्ने व्यक्तिलाई पनि विष सर्नसक्छ । चिकित्सकको अनुमतिविना खानेरपिउने गर्नु हुँदैन ।