काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्को बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ। संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिसका लागि कानुनी बाटो खुलेसाँगै प्रधान न्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाइएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको निजी सचिवालयका अनुसार बैठकमा भावी प्रधान न्यायाधीश सिफारिसको कार्यसूची छ। मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि गणपूरक सङ्ख्या र निर्णय प्रक्रियासम्बन्धी व्यवस्थाले पूर्णता पाएको थियो। कानुनी रिक्तता पूर्ति भएलगतै प्रधानमन्त्री शाहले परिषद् बैठक आह्वान गरेका हुन्।
यसअघिका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले उमेर हदका कारण चैत १७ गतेदेखि अनिवार्य अवकाश पाएका थिए । राउतको अवकाशपछि कायममुकायम प्रधान न्यायाधीशका रूपमा सपना प्रधान मल्लले सर्वोच्च अदालतको कमान्ड सम्हाल्दै आएकी छन्।
सर्वोच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा गरेका न्यायाधीश प्रधान न्यायाधीशको उम्मेदवार बन्न सक्ने संवैधानिक व्यवस्था अनुसार नाम पठाइएको थियो। न्याय परिषद् सचिवालयले वरिष्ठता क्रम र तीन वर्ष समयावधि पुगेका सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डाक्टर मनोजकुमार शर्मा, डाक्टर नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम परिषद्मा पठाइएको थियो।











