काठमाडौं । नेकपा एमाले नेतृत्वमा आएपछि पहिलो पटक पदाधिकारीहरूबीच अल्पमतमा परेका ओलीले बैठकको पहिलो दिनबाटै नेतृत्व नछोड्ने अडान लिए । शनिबारसम्म पनि ओलीले नेतृत्व परिवर्तन भनेर समय खर्च नगर्न पदाधिकारीहरूसँग भनिरहे ।
पार्टी उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले दोस्रो दिन नै ओलीको चेतावनीलाई चुनौती दिएका थिए । अरू पदाधिकारीले गुरुङले जसरी नभनेपनि पार्टी पुनर्गठनबारे आफ्नो मत राख्ने साहस गरेका थिए । यसरी चार दिनसम्म लम्बिएको सचिवालय बैठकले आइतबार राति ९ बजेतिर निर्वाचन नतिजाको समीक्षा एवं पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन तयार पार्नेगरी कार्यदल गठनसहितका निर्णयहरू गरेको छ ।
सुझाव कार्यदल गठन, असार दोस्रो साता केन्द्रीय कमिटी बैठक आह्वान, सरकारका केही निर्णयहरूप्रति आपत्ति र पार्टीको संगठनात्मक काम व्यवस्थित गर्नेगरी नेताहरूको जिम्मेवारीबारे निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । कार्यदल गठनमा खासै ओलीको मन चयनमा छैन । तैपनि पदाधिकारीमा अल्पमतमा परेका ओलीले यो निर्णय स्वीकारेका छन् । पछिल्लो चरणमा ओली नेतृत्व परिवर्तनको दवावमा छन् । पछिल्लो चरणमा महासचिव शंकर पोख्रेलले समेत ओलीलाई साथ दिन छोडेका छन् ।
बैठकले कलंकीमा पार्टी कार्यालय भवन बनाइदिने मीनबहादुर गुरुङको प्रस्ताव फिर्ता गर्ने र नेताहरूको कार्यविभाजन संशोधन सहित टुंग्याउने निर्णय पनि गरेका छ ।











