दाङ । नेकपा एमालेका महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले “दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल” मूल नारासहित विस्तृत र बहुआयामिक संकल्प पत्र सार्वजनिक गरेका छन् ।

संकल्प पत्र सार्वजनिक गर्दै उनले दाङ अहिले “टर्निङ पोइन्ट” मा उभिएको उल्लेख गर्दै अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पछाडि फर्कने बीचको छनोट भएको बताए ।
पोखरेलले आफूले अघि सारेका प्रतिबद्धतामध्ये अधिकांश पूरा गरेको दाबी गर्दै अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरेका छन् । उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको उल्लेख गरे ।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको, राजधानीको गुरुयोजना निर्माण गरी प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरिएको उनले बताए । पोखरेलले दाङको दीर्घकालीन पूर्वाधार विकासको आधार तयार पारिएको दाबी गर्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै निर्माण सम्पन्न गर्ने, घोराही–लमही सडक खण्डअन्तर्गतको अर्जुनखोला–मसौट तथा चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार गरिएको र वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

संकल्प पत्रको पूर्णपाठ

“दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ समृद्ध नेपाल”

शंकर पोखरेललाई भोट किन ?
पहल होइन प्रतिबद्धता पुरा गर्न

१.आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
हामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सङ्घारमा छौँ । यो घडी केवल मत हाल्ने औपचारिक प्रक्रिया मात्र नभई राष्ट्रको दिशा निर्धारण गर्ने ऐतिहासिक अवसर पनि हो । अस्वाभाविक परिस्थितिमा हुन गइरहेको यस निर्वाचनले हामी सबैलाई गम्भीर बनाएको छ । हरेक पाँच वर्षमा हुनुपर्ने आवधिक निर्वाचन यसपटक तीन वर्ष नबित्दै हुँदै छ । लोकतन्त्रको उच्च अभ्यासका रूपमा रहेको यस निर्वाचनको पूर्वसन्ध्यामा आदरणीय जनसमुदायसमक्ष प्रतिबद्धतासहित आएको छु । नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, सामाजिक मुक्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरूको आदर्शलाई निरन्तर पछ्याइरहने सङ्कल्प गर्दछु ।

मुलुकको अस्तित्व जोगाउँदै समृद्धितर्फ अघि बढ्ने कि पश्चगमनतर्फ धकेलिने भन्ने विषयमा देश अहिले निर्णायक मोडमा उभिएको छ । यसै सन्दर्भमा यो निर्वाचन अत्यन्त महत्त्वपूर्ण बनेको छ । हाम्रो विगतले पनि यही सत्य प्रमाणित गरेको छ । मलाई दृढ विश्वास छ कि दङ्गाली जनता सधैँ अग्रगमन र सकारात्मक परिवर्तनको पक्षमा उभिँदै आउनुभएको छ ।

नेकपा (एमाले) ले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने अभियान अघि बढाएको छ । पार्टीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै समावेशी राज्य निर्माणको मार्ग अवलम्बन गरेको छ । यसै आधारमा विविधताबीचको एकता र सद्भावलाई सुदृढ बनाउँदै हामी अघि बढिरहेका छौँ ।

हामीले जनताको चाहना र अगाध विश्वासका साथ लोकप्रिय तथा जनपक्षीय सरकार निर्माण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षालाई सम्बोधन गर्ने काम प्रारम्भ गरेका थियौँ तर नवयुवाको आन्दोलनको नाममा षड्यन्त्रपूर्ण ढङ्गले सरकार मात्र ढालिएन, राष्ट्रिय स्वाधीनतामाथि नै प्रहार गरियो । आम जनताको परिवर्तनको आकाङ्क्षा समेत कुण्ठित बनाइयो । त्यसपछि मुलुकमा अराजकता, कालाबजारी, भ्रष्टाचार, विकासमा अवरोध र दण्डहीनता बढ्दै जाँदा समृद्धिको ढोका बन्द हुन पुग्यो । अब पुनःसमृद्धिको ढोका खोल्दै मुलुकलाई विकसित देशको दाँजोमा पु¥याउन नेकपा (एमाले) लाई निर्वाचित गर्ने यो निर्वाचन महत्त्वपूर्ण अवसर बनेको छ ।अर्को अर्थमा, यो निर्वाचन देशलाई जिताउने कि हराउने भन्ने निर्णायक माध्यम पनि हो । मुलुकलाई भूराजनीतिक चपेटाबाट मुक्त गर्दै राष्ट्रिय हितको रक्षा र सुदृढ भविष्य निर्माणका लागि देशलाई जिताउन एमालेको नेतृत्व अपरिहार्य छ ।

दाङ जिल्ला आफैँमा ऐतिहासिक जिल्ला हो । थारू अग्रजहरूले सिञ्चित गरेको यो भूमि विश्वकै ठूला उपत्यकामध्ये एक हो । यो उपत्यका हावापानी, वातावरण, कला–संस्कृति सबै हिसाबले उत्कृष्ट छ । विगतमा दाङले लामो समयसम्म सबल र सक्षम नेतृत्व नपाउँदा दाङका समृद्धिका धेरै सम्भावनाहरू गर्भमै तुहिएका थिए । जब दङ्गाली जनताले हामीलाई विश्वास गर्नुभयो, तबमात्रै यहाँका विकासका सम्भावनाका ढोकाहरू क्रमशः खुल्दै गए । दाङ निरन्तर परिवर्तन खोजिरहेको छ, जसका केही किरणहरू देखापर्न थालेका छन् । त्यसको नेतृत्व एमालेले मात्रै गर्नसक्छ भन्ने कुरा प्रमाणित जस्तै छ ।
हामीले नेतृत्व गरेका बेला जति पूर्वाधार तथा अन्य विकासका थुप्रै रेखाहरू कोरिए, जुन त्यसअघिका दिनमा कहिल्यै भएका थिएनन् । तसर्थ, अब दाङलाई निरन्तर समृद्धिको यात्रामा अग्रसर बनाउन हामी आम जनसमुदायलाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दछौँ । यहाँहरूले गर्ने मतदान जनप्रतिनिधि चुन्ने मात्रै नभई “दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल” बनाउन प्रत्येक दङ्गालीले योगदान गर्ने अवसर हो ।
अब, राष्ट्रको नेतृत्वकारी भूमिकामा दाङलाई पु¥याउने समय आएको छ । दाङमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू पूरा गर्नुछ । नयाँ योजनाहरू अघि बढाउनुछ । अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन–बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने दाङ बनाउने हो । यसपटकको निर्वाचनमा मलाई सूर्य चिन्हमा मतदान गरी विजयी बनाउनुहोस् । आदरणीय दङ्गाली दाजुभाइ दिदीबहिनीहरूका यी आकाङ्क्षा पूरा गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।
हामीले जे भन्यौं–पूरा ग¥यौं
१. दाङलाई प्रदेशको राजधानी बनाउने सङ्कल्प पूरा गरेरै छाड्यौं ।
२.लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीका रुपमा सङ्घीयता कार्यान्वयनको नेतृत्व ग¥यौं।
३.दाङको पूर्वाधार विकासको आधारभूत (ायगलमबतष्यल० तयार गर्न भूमिका खेल्यौं ।
४.लमही–घोराही, अर्जुनखोला–मसौट र चौपट्टा खण्डका चारलेन तथा मसौट–चौपट्टा वैकल्पिक दुईलेन सडकको डी.पी.आर. तयार गराउन सफल भएका छौँ । ई.आई.ए. प्रक्रिया अगाडि बढाउँदै बहुवर्षिय योजनामा समावेश गराएर कार्यान्वयनको चरणमा पु¥याएका यी आयोजना गत भदौ २३–२४ को आन्दोलनपछि रोकिए पनि पुनः अघि बढाउन हामी निरन्तर पहलरत छौँ ।
५. ३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्न २०८२ साउन ७ गते डि.पि.आर. र ई.आई.ए. सम्बन्धी सूचना प्रकाशन गर्ने पहल हामीले गरेका हौं । हाम्रो सक्रिय प्रयासका कारण विस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर.) तयार गर्ने कार्य अहिले तीव्र रूपमा अघि बढिरहेको छ ।
६. “ग्वार खोला हाई ड्याम” र “माडी डाइभर्सन” आयोजनाको प्रारम्भिक अध्ययनका लागि आवश्यक बजेट विनियोजन गराउने र डि.पि.आर. प्रक्रिया अघि बढाउने पहल हामीले गरेका हौं । कार्यान्वयनको चरणमा अगाडि बढिरहेका यी महत्त्वपूर्ण आयोजना गत भदौ २३–२४ को आन्दोलनपछि अस्थायी रूपमा अवरुद्ध भएका छन्, जसलाई पुनः गति दिन हामी निरन्तर प्रयासरत छौँ ।
७. “पानीमुनीको पुल भएको जिल्ला” भन्ने पुरानो परिचयलाई रूपान्तरण गर्दै आधुनिक पूर्वाधार विकासमार्फत् जिल्लाको पहिचान बदल्ने अभियानको नेतृत्व हामीले ग¥यौं ।
८.प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासम्म पु¥याउन सहजीकरण ग¥यौं।
९.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ए.म.वि.वि.एस. र एम.डी. पढाइ सञ्चालन गर्न भूमिका खेल्यौंं ।
१०. लमहीमा ट्रमा सेन्टर स्थापना गर्न पहल हामीले गरेका हौं । हाम्रो सक्रिय प्रयासका कारण संरचना निर्माण तथा आवश्यक तयारीको कार्य अघि बढेको छ र यही आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्षका साथ प्रक्रिया अगाडि बढाइएको छ ।
११.त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माणका लागि पहल हामीले गरेका हौं । हाम्रो सक्रिय प्रयासका कारण २०८२ वैशाख २३ गते टेण्डर प्रकाशित भई निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । समयमै निर्माण सम्पन्न गरी पठनपाठन सुरु गर्ने लक्षका साथ काम अघि बढाइएको छ ।
१२.उच्चप्राविधिक शिक्षाको आधारशीला तयार पार्नहामीले भूमिका खेलेका हौं ।
१३.लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना निर्माण हामीले गरेका हौं । हाम्रो नेतृत्वमा गुरुयोजना तयार भई नमुना राजधानी सहर निर्माणको आधारशीला स्थापना गरिएको छ ।
१४.लुम्बिनी प्रदेश राजधानीमा प्रदेश सभा भवन तथा स्थायी पूर्वाधार निर्माणको प्रारम्भ हामीले गरेका हौं । हाम्रो सक्रिय प्रयासका कारण यी संरचनाको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेका छन्, जसले सुदृढ र व्यवस्थित राजधानी विकासको आधार तयार गरेको छ ।
१५.स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत्लुम्बिनी प्रदेशमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र किसानको आयवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेका हौं ।
१६.२०१० सालमा घोराहीमा स्थापना भएको सर्वोदय पुस्तकालयलामो समयसम्म जिर्ण अवस्थामा रहेको थियो ।सुविधा–सम्पन्न, व्यवस्थित र आधुनिक पुस्तकालय बनाउन प्रदेश सरकारका तर्फबाट भूमिका खेलेका थियौं ।
१७.घोराही उपमहानगरपालिका वडा नं. १८ कटुवा खोलामा किरियापुत्री भवन निर्माण गरेका छौँ।
१८. सुन्दर र दिगो सहरी विकासको लक्षसहित घोराही बजार क्षेत्रमा सडक तथा फुटपाथ निर्माण कार्यको प्रारम्भ हामीले गरेका हौं । योजनाअनुसार केही आयोजना पूर्ण भई सञ्चालनमा आइसकेका छन् भने केही संरचना निर्माणाधीन अवस्थामा अघि बढिरहेका छन् ।
१९.घोराही क्षेत्रभित्रका सघन सहरी कार्यक्रमअन्तर्गत गुणस्तरीय सडकहरू निर्माण सम्पन्न भएका छन् । जुन अहिले भाइरल रोडको नामले चिनारी दिइरहेका छन् ।

२०. शिक्षा क्षेत्र सुदृढीकरणका लागि सामुदायिक विद्यालयहरूको पूर्वाधार निर्माणमा ठूलो मात्रामा बजेट विनियोजन गरेका थियौंं । हाम्रो पहलमा प्रदेशका १२ जिल्लामा एक–एक विद्यालयका दरले १२ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा छनोट गरी आवश्यक पूर्वाधार, व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्धिसहित नमुना विद्यालयका रूपमा अगाडि बढाइएको छ ।

२१.लुम्बिनी प्रदेशका सबैजिल्ला अस्पतालहरूलाई कम्तिमा ५० शैयाको अस्पतालको रुपमा विकास गरिएको छ, साथै प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङलाई औषधि उत्पादन केन्द्रको रुपमा विकास गर्न जिएमपी स्टाण्डर्डको भवन निर्माण काम अगाडि बढेको छ ।

२२.खानेपानी तथा सरसफाईको दिगो एवम् योजनावद्ध विकास तथा व्यवस्थापन गर्नका लागि विभिन्न आर्थिक वर्षमा दाङमा करिब दुई अर्बको लगानी भएको छ ।

२३. पर्यटन विकासका लागि अम्बिकेश्वरी मन्दिर,तुलसीपुर १९ छिल्लीकोट,धारपानी,रिहार,गोरक्ष मन्दिरलगायत अन्य धार्मिक, पर्यटन, सांस्कृतिक क्षेत्रमा पूर्वाधार निर्माणमा महत्त्वपूर्णकाम भएको छ ।

२४.भुमि समस्या समाधान र भुमिहीनलाई लालपुर्जा वितरण गर्न भुमि समस्या समाधान आयोग गठन र कार्य प्रारम्भ भएको छ ।

यी त केही उदाहरण मात्रै हुन् । लुम्बिनी प्रदेशको समग्र विकासका लागि सार्वजनिक, निजी तथा बाह्य लगानीकर्तालाई पूर्वाधार निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले पूर्वाधार विकास प्राधिकरण गठन गरी काम प्रारम्भ गरेका हौं ।राजनीतिमा इमान्दारिता, पारदर्शिता र स्वच्छ छविको आधारमा आफूलाई स्थापित गर्न सफल भएको छु । दाङको प्रतिनिधित्व गर्ने अवसर पाउँदा जिल्लावासीको गौरव उँचो बनाउने काम ग¥यौं र पराजयका क्षणमा पनि निराश नभई जिल्लाको सेवामा निरन्तर समर्पित रहँदै आएका छौँ ।

हामीले गर्दैछौं 
ड्ड अनिश्चित अवस्थामा रहेको लमही–घोराही–तुलसीपुर फोरलेन सडक निर्माण कार्य पुनः सुरु गरी तीब्र गतिमा अघि बढाइरहेका छौँ ।
ड्ड घोराही वडा नं. ५ धर्नास्थित नेत्रलाल पार्क निर्माणाधीन छ र यसलाई आधुनिक तथा आकर्षक सार्वजनिक स्थलका रूपमा विकास गर्दै छौँ ।
ड्ड घोराही वडा नं. १६ मा नेत्रलाल बहुउद्देश्यीय रङ्गशालाको निर्माण कार्य सुरु गरी खेलकुद पूर्वाधार विस्तारमा अग्रसर छौँ ।
ड्ड सेवार खोला, हापुर खोला र कालाखोलामा चार लेनका पुलहरू निर्माणाधीन छन्, जसले यातायात सञ्जाललाई थप सुरक्षित र सुदृढ बनाउनेछ ।

हामी गर्नेछाँै (मेरा प्रमुख सङ्कल्पहरू)
आर्थिक विकास,समृद्धिको निकास 
१. आगामी ५ वर्षमा दाङको प्रतिव्यक्ति आय दोब्बरबनाउन विशेष आर्थिक क्षेत्र, पर्यटन र कृषि उद्योगबाट सिर्जना हुने मूल्य अभिवृद्धि(ख्बगिभ ब्ममष्तष्यल) बाटसम्भव बनाइने छ ।
२. दाङको अर्थतन्त्रलाई नेपालको सबैभन्दा तीव्र वृद्धिदर भएको बनाउने लक्षसहित निजी लगानीलाई सक्रिय रूपमा प्रोत्साहन गरिनेछ । सार्वजनिक निर्माण कार्यको विस्तार र उत्पादनशील क्षेत्रमा व्यापक लगानीमार्फत् आर्थिक गतिशीलता अभिवृद्धि गरिनेछ ।
३. “मेक इन दाङ” अभियानअन्तर्गत कृषि प्रशोधन उद्योग, डाटा इन्ट्री सेन्टर, हल्का उद्योग तथा पर्यटन सेवाका क्षेत्रमा २० हजार युवालाई रोजगारी सिर्जना गरिनेछ, जसबाट आत्मनिर्भर र सशक्त स्थानीय अर्थतन्त्र निर्माण गरिनेछ ।
४. “दाङ ग्रोथ ट्राइएङ्गल” (घोराही–तुलसीपुर–लमही) लाई औद्योगिक क्लस्टरका रूपमा विकास गर्दै यस क्षेत्रभित्र उत्पादन, प्रशोधन र बजार व्यवस्थापनको पूर्ण मूल्य शृङ्खला स्थापना गरिनेछ ।
५. नयाँ लगानीकर्तालाई आकर्षित गर्न निश्चित अवधिसम्म आयकर छुटको व्यवस्था गरिनेछ, जसबाट निजी क्षेत्रको लगानी वृद्धि प्रोत्साहित हुनेछ ।
६. उद्यमी बन्न चाहने युवाका लागि विनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था गरिनेछ, ताकि नवप्रवर्तन, स्वरोजगार र स्थानीय उद्यमशीलता विस्तार हुन सकोस् ।

भौतिक पूर्वाधार–दाङको समृद्धिको आधार 

१. घोराही–तुलसीपुर चारलेन सडक निर्माण कार्यलाई समयमै सम्पन्न गरिने छ ।
२. लमही घोराही चारलेन सडक निर्माण कार्यलाईसम्पन्न गरिनेछ ।
३.घोराहीदेखिबङ्गलाचुलीको खानी क्षेत्रजाने सडकलाई ढलान सड़क बनाइने छ ।
४.७२ सिटे जहाज उडान÷अवतरण गर्ने गरी तुलसीपुर विमानस्थलको विस्तार गरिने छ ।
५.३५० बिगाहा क्षेत्रफलको घोराही औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरिने छ ।
६.गुहारखोला हाइड्याम र माडी डाइभर्सनबाट नहर प्रणाली विकास गरिने छ ।
७.प्रमुख बस्तीका ग्रामीण सडक कालोपत्रे गरिने छ ।
८. सहरी क्षेत्रमा व्यवस्थित फुटपाथ निर्माण गरिने छ ।
९.लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना कार्यान्वयन गरिने छ ।
१०.घोरही १६ मा रहेको अधुरो नेत्रलाल अभागी रङ्गशालाको निर्माणकार्य पूरा गरिने छ ।
११.दाङ र देउखुरी उपत्यका जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरीनिर्माण कार्य थालनी गरिनेछ ।

१२.घोराही–सिमलतारा–हाँसिपुर–देउखुरीको वीपी राजमार्गअन्तर्गत सिमलतारादेखि बाँकी खण्डको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गरिनेछ ।

१३लमही–घोराही–होलेरी–स्वर्गद्वारी–भिङ्ग्री–भालुबाङ–लमहीलाई स्वर्गद्वारी चक्रपथको रुपमा विकास गरिनेछ ।

१४. घोराही–मसिना–नयाँवस्ती–रालबाङ–पाँचपोखरी–अरङखोला–स्वर्गद्वारी सडक स्तरोन्नति र कालेपत्रे गरिने छ ।

१५.सबै नदी र खोलाहरूमा आवश्यकतानुसार पक्की तथा झोलुङ्गे पुलको व्यवस्था गरिने छ ।

१६.घोराही–हापुर–रक्षाचौर आँखा अस्पतालसम्मको सडकको बाँकी खण्डको निर्माण कार्य पूरा गरी पञ्चकुलेसम्म बिस्तार गरिनेछ ।
१७. बबई नदी र अन्य मुख्य खोलाका दायाँ–बायाँ तटबन्ध निर्माण गरी हरियाली क्षेत्र निर्माण गरिनेछ ।

१८.निर्माणका क्रममा रहेका सबै सडक र पुलहरूलाई पूर्णता दिइनेछ ।

१९. घोराही र तुलसीपुरमा महानगरका लागि आवश्यक पर्ने योजनाबद्ध पूर्वाधारका लागि काम अघि बढाइनेछ ।

२०.सडक, पुल, सिँचाइ, खानेपानी र विद्युत् विस्तारलाई प्राथमिकता दिइनेछ ।साथै ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग÷बजारकेन्द्रसँग जोडिनेछ ।

मानव क्षमता विकास र शिक्षा,दङ्गाली जनताको अपेक्षा 
१. नेपाल संस्कृत विश्वविद्यालयलाई हिन्दू धर्म, संस्कृत, योग तथा पूर्वीय दर्शन अध्ययनका लागि विश्वव्यापी गन्तव्यका रूपमा विकास गरिनेछ । अन्तर्राष्ट्रिय छात्रवृत्ति, शोध अनुदान तथा आधुनिक अनुसन्धान सुविधाको विस्तार गरी विश्वविद्यालयलाई विश्वस्तरीय शैक्षिक केन्द्रका रूपमा स्थापित गरिनेछ ।

२. दाङलाई नेपालको शैक्षिक राजधानी बनाउने लक्षसहित अन्तर्राष्ट्रिय स्तरको प्रविधि, व्यवस्थापन, चिकित्सा, कृषि तथा शिक्षा क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास गरिनेछ । प्रत्येक वर्ष करिब दुई हजार विदेशी विद्यार्थी अध्ययन गर्न आउने वातावरण निर्माण गरिनेछ ।
३. सबै विद्यार्थीका लागि डिजिटल शिक्षा सुनिश्चित गर्न “वन चाइल्ड–वन ल्यापटप” अभियान सञ्चालन गरिनेछ । बिपन्न परिवारका प्रत्येक विद्यार्थीलाई डिजिटल उपकरण तथा इन्टरनेट पहुँच उपलब्ध गराइनेछ ।
४.त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पसको पूर्वाधार विकास गरी तत्काल पठनपाठन सुरु गरिनेछ ।
५. विद्यालय तथा विश्वविद्यालय शिक्षामा उद्यमशीलताको भावना अभिवृद्धि गर्न शैक्षिक कार्यक्रमलाई खोजमूलक, सीपमूलक र नवप्रवर्तनकारी बनाइनेछ ।
६.महेन्द्र बहुमुखी क्याम्पसका साथै अन्य सामुदायिक क्याम्पसको पूर्वाधार र समयानुकूल शैक्षिक कार्यक्रम थप गरिने छ ।

७. पूर्वप्राथमिक शिक्षाका लागि एक वडा एक नमूना बालविकास केन्द्र स्थापना गरिने छ । अन्य बालविकास केन्द्रहरूको स्तरोन्नति गरिने छ ।

८.सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि गर्न स्थानीय तहको सहकार्यमा शिक्षकहरूलाई नव प्रवर्तनात्मक तालिमको व्यवस्था गरिने छ ।

आधुनिक कृषि र खाद्य सुरक्षा सवल अर्थतन्त्रको आधारशिला 
१.ड्रिप सिँचाइ, हाइड्रोपोनिक्स र प्रिसिजन फार्मिङ्बाट उत्पादन ३००% ले बढाउने लक्षराखीहालको उत्पादन प्रणालीलाई आमूल रुपान्तरण गरिने छ ।
२.निर्वाचन क्षेत्रका सबै नागरिकहरूको शेयर सहभागितामा रु ५ अर्ब चुक्ता पुँजी भएको दाङ पुनर्निर्माण प्राधिकरणको स्थापना गरी कृषिलाई यान्त्रिकीकरण गर्न आवश्यक पर्ने औजार, प्रविधि, कृषि सामग्रीहरू, मल बिउ, ग्रीन हाउस नर्सरी, औषधि, जनशक्ति, कोल्ड स्टोर, कृषि बजार, खाद्य उद्योग सबै व्यवस्थापन गरिनेछ ।
३. निर्वाचन क्षेत्रभित्रका सबै कृषकहरुलाई सहुलियतपूर्ण तरिकाले सुविधा उपलब्ध गराई लागत खर्च घटाएर उत्पादन बढाइने छ र प्रत्येक कृषकको आयस्तर कम्तिमा तीन गुणा वृद्धि गरिनेछ ।
४.माटो परिक्षण प्रयोगशालाको स्थापना र बिउ स्रोत केन्द्रको स्थापना गरी लागत सहभागितामा बिउ उत्पादन गरिने छ ।
५.“दाङ फुड पार्क” को स्थापनाः किसानले उत्पादन गरेको तरकारी, फलफूल र अन्य उत्पादनको प्रशोधन, प्याकेजिङ र निर्यात गर्नएकीकृत आधुनिक केन्द्र स्थापना गरिनेछ।
६. कृषि स्टार्टअपहरूको इन्क्युवेसनः युवाहरूलाई एग्री–टेक स्टार्टअप स्थापनाका लागि पुँजी, मेन्टरसिप र बजार पहुँच प्रदान गरिनेछ।
७.कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको जीवनस्तर उठाइने छ ।
८.सम्भाव्य खोला–सोतामा थप कृत्रिम जलाशय निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिने छ ।
९.कृषि तथा वनमा आधारित प्रशोधन उद्योगहरूको सघन बृद्धिबाट रोजगारी रआयआर्जनका दीगो र भरपर्दो उपायको रुपमा औद्योगीकरणको आधारशीला तयार गरिनेछ ।

१०.तरकारी खेती प्रबद्र्धनका लागि किसानहरूलाई सुपरस्ट्रक्चरसहितको टनेल र प्लाष्टिक टनेल, मौरीपालक किसानलाई आवश्यक अनुदान र रसजन्य बाली तथा बिरुवारोपणलाई प्रोत्साहन गरिनेछ ।

११.गाई–भैँसीपालन, बाख्रापालन, मत्स्यपालन, माहुरीपालन, कुखुरापालन, बङ्गुरपालन व्यवसायलाई पशुपालन उद्योगका रुपमा विकास गरिनेछ ।

१२.पशुपालक किसानहरूका लागि नश्लसुधार, भकारोसुधार तथा महामारी रोग नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ ।

१३.जनताको खाद्यअधिकारको ज्ञारेन्टी गरी भोकमरी मुक्त बनाई ‘स्वस्थ खाना निरोगी जीवन’ अभियान सञ्चालन गरिने छ ।

१४.स्थानीय कृषि उत्पादनलाई प्रश्रय दिन कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रको आवश्यकतानुसार स्थापना गरिनेछ ।

१५.किसानहरूलाई समयमै मल,बिउबिजन उपलब्ध गराइने छ ।

१६.प्रविधिमा आधारित कृषि प्रणालीको विकास गरी उत्पादनमा आधारित अनुदान र न्यूनतम समर्थन मूल्यको व्यवस्था गरिनेछ ।

उद्योग,व्यापार,उद्यमशिलता 
१. दाङमा उत्पादन गरी स्वदेश तथा विदेश निर्यात गर्ने वस्तुहरूको ब्रान्डमा दाङको विशेषता झल्काउने र दाङलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने खालका उद्योगहरूको स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।

२. सिमेन्ट उद्योगलाई व्यवस्थित गरी वातावरणमैत्री बनाइनेछ ।

३. कोइला उद्योग, इँटा उद्योग, क्रसर उद्योगद्वारा जथाभावी प्राकृतिक स्रोत दोहन गर्ने परिपाटीलाई नियमन तथा व्यवस्थित गरिनेछ ।

४. जडिबुटी प्रशोधन उद्योग, खाद्यबाली उद्योग, नगदेबाली उद्योग, जैविक मल उद्योग, मासु प्रशोधन, डेरी, प्लाइउड तथा बाँसजन्य उद्योगलाई प्रोत्साहन गरिनेछ ।

५. माटाका भाँडा, ढकिया, गुन्द्री, पटकी, बिडा, बेदबाँसका सामानहरू तथा अल्लोका कपडाहरूको उद्योगलाई संरक्षण गरिनेछ ।

६. खनिज सम्पदाको सम्भाव्यता अध्ययन गरिनेछ ।

७. दाङलाई खाद्यान्न, दूध, माछामासु, मह, फलफूल तथा तरकारीको निर्यात केन्द्रका रूपमा विकास गरिनेछ ।

८. अन्य जिल्लाका कृषि तथा गैरकृषि उत्पादनहरू दाङमा प्रशोधन गरी बजारमा पठाइ मूल्य अभिवृद्धिको लाभ लिन निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।

९. दाङ जिल्लालाई वस्तु तथा सेवा आपूर्ति गर्ने प्रमुख केन्द्रका रूपमा विकास गरिनेछ ।

१०. कोइलाबास भन्सारलाई अन्तर्राष्ट्रिय निकासी–पैठारी गर्नसक्ने गरी नाका सञ्चालनका लागि पहल गरिनेछ ।

११. लघुउद्यमलाई प्रवर्धन गर्न उद्यमशीलता तालिमको व्यवस्थापन गरिनेछ ।

जलस्रोत, सिँचाइ, खानेपानी र विद्युतीकरण
१. ठाडा खोलाहरूमा बाँध बाँधी वर्षायामको बाढी नियन्त्रण, जलाशयहरूको निर्माण तथा व्यवस्थापन गरिनेछ ।

२. दीर्घकालीन सिँचाइ समस्या समाधानका लागि ग्वारखोला हाईड्याम र माडी डाइभर्सनको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिनेछ ।

३. सिँचाइ सेवा विस्तार गर्न आवश्यक स्थानहरूमा कुलोहरूको निर्माण, मर्मत तथा कच्ची कुलोलाई पक्की गरिनेछ ।

४. सतह पानीको स्रोत नभएका स्थानहरूमा डिप बोरिङ, लिफ्टिङ तथा सौर्य प्रणालीबाट सिँचाइ सेवा विस्तार गरिनेछ ।

५. निर्मित जलाशयहरूको सिँचाइलगायत बहुउपयोग गरिनेछ ।

६. दाङको समथर तथा पहाडी क्षेत्रमा वैकल्पिक ऊर्जालाई प्रवर्धन गरिनेछ ।

७. हाल पाइप प्रणालीको पानी उपभोग गरिरहेका घरधुरी ७० प्रतिशत रहेको अवस्थामा शतप्रतिशत घरधुरीमा स्वच्छ पिउने पानीको व्यवस्था गरिनेछ ।

८. खानेपानीमा सहज पहुँच विस्तार गर्न नयाँ आयोजनाहरू निर्माण तथा पुराना आयोजनाहरूको मर्मतसम्भार गरिने छ । यसका लागि आयोजनापिच्छे मर्मतसम्भार कोषको व्यवस्था गरिनेछ ।

९. पानी शुद्धिकरण परीक्षण, मुहान संरक्षण तथा पानी सुरक्षा योजनाको अवधारणालाई कार्यान्वयन गरिनेछ ।

१०. पहाडी क्षेत्रहरूमा आकाशे पानी सङ्कलन पोखरी निर्माण गरी सिँचाइको व्यवस्था गरिनेछ।

११. दाङका कछारका अग्ला खेतीयोग्य जमिनमा बबईको पानी लिफ्ट गरी सिँचाइ सेवा विस्तार गरिनेछ ।

१२. सिँचाइ प्रयोजनका लागि विद्युत् महसुल घटाउँदै लगिनेछ ।

१३. विद्युत् पुग्न बाँकी क्षेत्रमा विद्युत् विस्तारलाई प्राथमिकता दिइनेछ ।

विश्वस्तरीय स्वास्थ्य सेवाः
१. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरी ४०० शैयाको एक अत्याधुनिक “मल्टी–स्पेसियालिटी अस्पताल” स्थापना गरिनेछ । टेलिमेडिसिन सेवामार्फत् दाङका बासिन्दाले विदेशस्थित विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनसक्ने व्यवस्था गरिनेछ । गरिबीको रेखामुनि रहेको जनसङ्ख्याका लागि सबै प्रकारका औषधोपचार निःशुल्क गरिनेछ ।
२. “हेल्थ फर अल” को ग्यारेन्टी : प्रत्येक दङ्गाली नागरिकका लागि निःशुल्क आवश्यक स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था गर्न सबै स्थानीय तहका पालिका अस्पतालहरूको स्तरवृद्धि गरिनेछ ।
३. आगामी ३ वर्षभित्र मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गरिनेछ ।
४. प्रादेशिक आयुर्वेद अस्पताल बिजौरीलाई पूर्वाधार थप गरी स्तरोन्नति गर्दै औषधि उत्पादन केन्द्रका रूपमा विकास गरिनेछ ।
५. थारू समुदायभित्र रहेको मन्त्र, मेडिसिन र मसाज (गुरुवा, बैडावा र सोरिन्ह्या) उपचार पद्दतिको अनुसन्धान तथा विकास गरिनेछ ।
६. स्वास्थ्य बीमाको दायरा विस्तार गरी सेवाको सुनिश्चितता गरिनेछ ।
७.स्वास्थ्य बीमाको दायरा विस्तार र सेवाको सुनिश्चितता गरिने छ ।
जवाफदेही शासन, पारदर्शी प्रशासन :
१. दाङ : भ्रष्टाचारमुक्त जिल्लाः “जिरो टलरेन्स पोलिसी” लागू गरी साना–ठूला कुनै पनि भ्रष्टाचारको अनुसन्धान ३० दिनभित्रै गर्ने तथा कारबाही गर्ने संयन्त्रको विकास गरिनेछ र ई–टेन्डरिङ अनिवार्य गरिनेछ ।
२. “स्मार्ट गभर्नेन्स कमाण्ड सेन्टर”ः पारदर्शिता तथा कार्यक्षमता बढाउन एक डिजिटल ड्यासबोर्डमार्फत् सम्पूर्ण जिल्लाको वास्तविक समयमा तथ्याङ्क (विकास कार्य, शिक्षा, स्वास्थ्य, अपराध) निगरानी गर्ने प्रणाली विकास गरिनेछ ।
३. सामाजिक न्यायको नयाँ परिभाषाः “प्रोग्रेसिभ युनिभर्सलिज्म” अन्तर्गत गरिबलाई विशेष सहयोग तर सबैलाई समान गुणस्तरीय सार्वजनिक सेवा (शिक्षा, स्वास्थ्य) प्रदान गरिनेछ ।
४. स्थानीय सरकारलाई प्रेरणाः प्रत्येक गाउँपालिका÷नगरपालिकाले समन्वयात्मक रूपमा आफ्नो विकास योजना तयार गरी सार्वजनिक घोषणा गर्नेछन् र उनीहरूको प्रगतिका आधारमा “परफर्मेन्स–बेस्ड ग्रान्ट” प्रदान गरिनेछ, जसले प्रतिस्पर्धा तथा उत्कृष्टता बढाउनेछ ।
५. ढिलासुस्ती र फाइल घुमाउने संस्कार, सूचना प्रविधिको कमजोर प्रयोग, भ्रष्टाचार तथा कमिसनखोरी, कार्यदक्षता र उत्तरदायित्वको अभावलाई रोक्न संरचनागत सुधार गरिनेछ । अनावश्यक निकाय खारेज गरिनेछन्, संघ–प्रदेश–स्थानीय तहबीच स्पष्ट कार्यविभाजन गरिनेछ, कानुनी सुधार तथा नागरिकमैत्री कानुन निर्माण गरिनेछ । भ्रष्टाचारमा कडा दण्ड र छिटो न्यायको व्यवस्था गरिनेछ । डिजिटल शासन (ई–गभर्नेन्स), अनलाइन सेवा तथा एकद्वार प्रणाली, डिजिटल हस्ताक्षर र ओपन डाटा प्रणाली लागू गरिनेछ । दक्षता अभिवृद्धिका लागि कार्यसम्पादन–केन्द्रित तालिम सञ्चालन गरिनेछ तथा कार्यसम्पादन सम्झौतामा आधारित पुरस्कार–दण्डको व्यवस्था गरिनेछ । पारदर्शिता र जवाफदेहितामा आधारित नैतिक मूल्य प्रवर्धन गरी सुशासनका लागि अब प्रक्रियामुखी होइन, परिणाममुखी प्रशासनयन्त्रको विकासमा जोड दिइनेछ ।
पर्यटन र सांस्कृति समाजको उन्नतिः
१. “दाङः पूर्वीय दर्शन र प्रकृतिको सङ्गम” : नेपाल संस्कृत विश्वविद्यालयलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय योग, ध्यान तथा आध्यात्मिकता शिविरहरू आयोजना गरिनेछ । दाङलाई “विश्व शान्ति र आत्म–अन्वेषणको केन्द्र” का रूपमा ब्रान्डिङ गरिनेछ ।
२. सांस्कृतिक पर्यटनको पुनर्जागरण : स्वामी दर्शन, गुरुवा मठ, ऐतिहासिक गढीहरू तथा थारू संस्कृतिलाई विश्वस्तरीय सुविधा (गाइड, होमस्टे, सरसफाइ) युक्त गन्तव्यका रूपमा विकास गरिनेछ ।
३. “भिजिट दाङ” अभियान : दाङ आउने विदेशी पर्यटकका लागि सुरक्षाको विशेष व्यवस्था गर्दै पर्यटन स्वयंसेवी समूह, पर्यटन प्रहरी, सूचना केन्द्र, निःशुल्क वाईफाई जोन तथा सांस्कृतिक अनुभव प्याकेज प्रदान गरिनेछ ।
४. अम्बिकेश्वरी मन्दिर, पाण्डवेश्वर धाम, उज्जा भगवती, छिल्लिकोट लगायतका धार्मिक पर्यटकीय स्थलहरूको पूर्वाधार विस्तार गरिनेछ ।
५. दाङमा पर्यटन सर्किट (धारपानी, लरैना/मन्ठोरिया, सुकौरा, रानीबन, चखौरा, पुरन्धारा छहरा, छिल्लिकोट, बाह्रकुने दह, गुम्बा, चौघेरा, अम्बिकेश्वरीदेखि स्वर्गद्वारी) को अवधारणाअनुरूप कार्य गरिनेछ ।
आधारभूत सञ्चार, संरचना र पर्यावरणः
१. डिजिटल इन्फ्रास्ट्रक्चरको विस्तार : गाउँगाउँमा ५जी इन्टरनेट, निःशुल्क पब्लिक वाईफाई जोन तथा “डिजिटल सेवा केन्द्र” स्थापना गरिनेछ ।
२. “ग्रीन दाङ” अभियान : १० लाख वृक्षरोपण, नदी जलशोधन संयन्त्र स्थापना तथा सबै सरकारी भवन सौर्य ऊर्जाबाट सञ्चालन गर्ने लक्ष लिइनेछ । दाङलाई नेपालको पहिलो “कार्बन–न्यूट्रल” जिल्ला बनाइनेछ ।
३. उपभोक्ता वा नागरिकमैत्री सहरीकरणः घोराही र तुलसीपुरलाई पैदलयात्रीमैत्री, साइकलमैत्री तथा हरित सहरका रूपमा विकास गरिनेछ । सबै सार्वजनिक भवन तथा सडक अपाङ्गतामैत्री बनाइनेछ ।
४. वन संरक्षण तथा वनको दिगो व्यवस्थापन र उपयोग गरी वनजन्य उद्योगको प्रवर्धन गरिनेछ, जडिबुटी खेतीको विस्तार गरिनेछ तथा भू–संरक्षण र जलाधार क्षेत्र व्यवस्थापन गरिनेछ ।
५. दाङको चुरे तथा महाभारत क्षेत्रका हरिया वनहरूको व्यवस्थापन र विकास गर्दै महाभारत क्षेत्रलाई जडिबुटी पकेट क्षेत्रका रूपमा विकास गरिनेछ ।
६. जिल्लामा रहेका सिमसार क्षेत्रहरूको संरक्षण तथा सम्वर्धन गरिनेछ ।
७. भू–उपयोगका आधारमा तोकिएको बसोबास क्षेत्र बाहेक अन्य जोखिम तथा संवेदनशील क्षेत्रका परिवारलाई उपयुक्त विकल्पसहित प्राथमिकताका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।
विश्वस्तरीय सेवा र नवीनताः
१. “दाङ इनोभेसन हव” : आर्टिफिसियल इन्टेलिजेन्स तथा नवीकरणीय ऊर्जामा अनुसन्धान गर्ने एक उत्कृष्टता केन्द्र स्थापना गरी विश्वविख्यात संस्थाहरूसँग सहकार्य गरिनेछ ।

२. दाङका रैथाने भाषा तथा संस्कृतिको डिजिटल संरक्षणः थारू, मगर तथा स्थानीय भाषाहरूको डिजिटल अभिलेख (आर्काइभ), ई–पुस्तकालय तथा भाषा सिकाउने एप विकास गरिनेछ ।
युवा तथा खेलकुद :
१. युवा संसदको गठनः दाङका प्रत्येक वडाबाट निर्वाचित युवा प्रतिनिधिहरू मिलेर “युवा संसद” गठन गरेर युवाहरूको नेतृत्व विकास गरी उनीहरूको चाहनाअनुसार नीति सिफारिस गरिने छ ।
२. युवाकेन्द्रित नीति, स्टार्टअप र नवप्रवर्तनमा प्रोत्साहन गरिनेछ ।
३.युवा प्रतिभाको खोजी गरी उनीहरूको क्षमताको सदुपयोग गरिनेछ ।
४. युवाहरूलाई सामाजिक उद्यमी बनाउन प्रोत्साहन गरी विदेश पलायन रोकिनेछ ।
५. दङ्गाली युवाको क्षमता नक्साङ्कनः १६–२५ वर्ष उमेरका युवाको सीप, रुचि र आकाङ्क्षाको डिजिटल डेटाबेस बनाइने छ । यसअनुसार नै तिनलाई तालिम र रोजगारीमा जोड्ने काम गरिने छ ।
६. साफ गेम गराउन सकिने नेपालकादोस्रो ठूलो फुटबल रङ्गशाला जसमा २५–३० हजार दर्शक सहितको २५००÷३००० दर्शक अटाउने कभर्ड हल जसमा सबै ईन्डोर खेलहरू सञ्चालन हुने, स्वीमिङ पुल, फुड पार्क, टिकट घरसहितको बस, कार र मोटरसाइकल पार्किङसहितको नेत्रलाल अभागी रङ्गशाला निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।
७. हरेक वडामा भौतिक पूर्वाधारअनुसार राष्ट्रिय मान्यता प्राप्त खेलहरुको खेलकूद पूर्वाधार बनाइने छ ।
८. हरेक वडामा राष्ट्रिय मान्यता प्राप्त खेलहरूको ग्रास रुट (न्यूनतम प्रशिक्षणदेखि प्रशिक्षक) सञ्चालन गरिने छ ।
९. गुलरियामा रहेको क्रिकेट मैदानलाई थप व्यवस्थित गरिने छ ।
१० प्रशिक्षक र रेफ्रीउत्पादन गरी हरेक वडामा प्रशिक्षक नियुक्त गरी नयाँ खेलाडीहरू उत्पादन गरिने छ ।
समावेशी विकासः
१. महिला सशक्तीकरणको “दाङ मोडेल” ः महिलालाई भूमिअधिकार, व्यवसायिक ऋण र डिजिटल साक्षरता कार्यक्रममा प्राथमिकतादिइने छ । एक घर एक स्नातकको अवधारण लागू गरी विशेष कोर्ष बनाएर आगामी ५ वर्षभित्र एक घर एक महिला स्नातक वा एक घर एक महिला तालिम प्राप्त दक्ष जनशक्ति तयार गरेर ५५ वर्ष भित्रका सत प्रतिशत महिलाहरूलाई सशक्तीकरण गरेर आर्थिक बिकासका अवसरहरूसँग जोडिने छ ।
२.जेष्ठ नागरिकको सम्मान–राष्ट्रको स्वाभिमान ः जेष्ठ नागरिकहरूका लागि दिवा जमघट केन्द्रहरूलाई थप व्यवस्थित गरिनेछ साथै जेष्ठ नागरिकका अनुभवलाई युवा पुस्तामा हस्तारण गर्ने वातावरण निर्माण गरिनेछ ।

३.महिलामाथि हुने कुनै पनि प्रकारको लैङ्गीक हिंसा, चेलीबेटी बेचबिखन तथा विभेदमा शून्य सहनशिलता अपनाइने छ ।

४.नेतृत्वमा महिलहरूको सहभागिता अभिवृद्धि गर्न नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

५.महिला उद्यमी कार्यक्रमहरू सञ्चालन गरी महिलाहरूलाई उद्यममा प्रोत्साहन गरिनेछ ।

६.एमाले सरकारले सुरु गरेको महिला स्वास्थ्य स्वयंसेवीकाहरूको प्रोत्साहन भत्ता बृद्धि गर्दै लगिनेछ ।

७.बालबालिकाको अधिकार–सबैको सरोकार ः बालबालिकाको बालापनलाई सुरक्षित गर्न उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणमा विशेष ध्यान दिइनेछ ।

८.बालविवाह तथा बालश्रमलाई न्यूनीकरण तथा उन्मूलन गर्ने अभियान सञ्चालन गरिनेछ साथै बिपन्न तथा अपाङ्ग बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

९.बिपन्न, दलित, अल्पसङ्ख्यक तथा लोपोन्मुखका लागि जनता आवास कार्यक्रमको निरन्तरता तथा थप कार्यक्रम सञ्चालन गरिने छ ।

१०.दलित, जनजाति र लोपोन्मुख समुदायका परम्परागत ज्ञान, सीप र संस्कृतिलाई प्रवर्धन गर्दै लगिनेछ ।

११.विद्यालय, अस्पताल, सरकारी कार्यालय, सडक तथा सार्वजनिक भवन जस्ता भौतिक संरचनाहरू अपाङ्गमैत्री बनाइने छ ।

१२.अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको अवसरमा प्राथमिता दिइने छ ।

भूमिहीन,सुकुमवासी, बिपन्न र पिछडिएको क्षेत्र :
१. सबै सुकुमवासीलाई लालपुर्जा वितरण गरी अव्यवस्थित बसोबासको व्यवस्थापन गरिनेछ ।

२. बिपन्न तथा पछाडि पारिएकाहरूको विपन्नता सर्वेक्षण गरी प्रभावकारी उत्थानका कार्यक्रम सञ्चालन गरिनेछ ।

३. किसानले जोतभोग गर्दै आएका गुठीको नाममा रहेका जग्गा किसानकै नाममा रैकर गरिनेछ ।

४. आर्थिक अवस्था कमजोर भएका किसानले तिर्न नसकेको बाँकी ऋण मिनाहा गरिनेछ ।

५. मुक्त कमलहरीहरूको उच्च शिक्षासम्म अध्ययनको व्यवस्था मिलाइनेछ ।

६. मुक्तकमैया, सुकुमबासी तथा भूमिहीनहरूलाई जग्गासहित पुनःस्थापना गरिनेछ ।

७. मटावा प्रणालीलाई कानुनी मान्यता प्रदान गरी निर्णय प्रक्रियामा सहभागी गराइनेछ ।

८. थारू भाषा, साहित्य, कला, संस्कृति तथा सभ्यताको संरक्षण, प्रवर्धन र विकासका लागि प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ ।

९. “चम्पन (खुसी) गाउँ” कार्यक्रमः पढेलेखेका, सचेत तथा स्वस्थ नागरिक, निश्चित रोजगारी र आयस्रोत भएको, थारू सभ्यतामैत्री पूर्वाधारहरूयुक्त, व्यवस्थित कृषि प्रणाली भएको तथा लोककला र सङ्गीतसहित लाइभ म्युजियमका रूपमा समेत विकास गरिएको नमुना थारू गाउँहरू विकास गरिनेछ ।

१०. भुइँह्यार थानहरूको एकीकृत विकास गरिनेछ ।

दाङको विश्वव्यापी छविः
१. “दाङ ग्लोबल समिट” : प्रतिवर्ष अन्तर्राष्ट्रिय स्तरको “दाङ ग्लोबल समिट” आयोजना गरी नेपाली मूलका विदेशी लगानीकर्ता, विद्वान तथा उद्यमीहरूलाई आकर्षित गरिनेछ ।
२. दाङः विकासको प्रयोगशाला ः दाङलाई संयुक्त राष्ट्रसंघ, विश्व बैंक तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको “लिभिङ ल्याव” (जीवन्त प्रयोगशाला) का रूपमा विकास गरी नयाँ विकास मोडेलहरू परीक्षण तथा विकसित गरिनेछ ।
३. दाङका प्रत्येक नागरिकलाई आत्मविश्वासी, शिक्षित, स्वस्थ तथा वैश्विक दृष्टिकोणयुक्त विश्व नागरिकका रूपमा विकास गरिनेछ, जसले दाङलाई मात्र होइन, सम्पूर्ण नेपाललाई गौरवान्वित गर्नेछ ।
५ वर्षमा ५ क्रान्ति :
१. आर्थिक तथा पूर्वाधार क्रान्ति
२. शैक्षिक क्रान्ति
३. स्वास्थ्य सेवामा क्रान्ति
४. प्रविधिमा क्रान्ति
५. सुशासनमा क्रान्ति
यो सङ्कल्प सपना मात्र होइन, दृढ इच्छाशक्ति, रणनीतिक सोच तथा अटल अनुशासनमा आधारित एक व्यवहारिक मार्गचित्र हो । दाङ अहिले एक “टर्निङ पोइन्ट” मा उभिएको छ । यी सङ्कल्पसहित केन्द्रीय घोषणापत्रका प्रतिबद्धता पूरा गर्न नेतृत्वकारी भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।
आदरणीय जनसमुदायहरू,
हामी यस निर्वाचनमा दाङको समृद्धिका लागि यिनै सङ्कल्पहरूसहित यहाँहरूको बीचमा उपस्थित भएका छौँ । यहाँहरूको अमूल्य मत दाङ जिल्लाको समृद्धिका लागि कोसेढुङ्गा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ । हामी समृद्धिको नेतृत्व गर्न सक्षम छौँ ।अतः नेकपा (एमाले) का सूर्यध्वजावाहक उम्मेदवार शंकर पोखरेललाई बहकावमा होइन, विश्वासका साथ मतदान गरी दाङको समृद्धिका लागि योगदान गर्न आदरणीय दाङबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछु ।

शंकर पोखरेल
उम्मेदवार
प्रतिनिधिसभा सदस्य
दाङ निर्वाचन क्षेत्र नं. २
नेकपा (एमाले)