दाङ । महिला सेवा संस्था नेपालको आयोजना तथा महिला कानुन र विकास मञ्चको सहकार्यमा घोराही उपमहानगरमा दलित समुदायलाई नमूना मतदान शिक्षा प्रदान गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै गरिएको मतदान शिक्षा कार्यक्रममा दलित समुदायका महिला र १८ वर्ष पुगेका युवायुवतीलाई निर्वाचनको महत्त्व, मतदान गर्ने तरिका, मतपत्र भर्ने प्रक्रिया तथा मत बदर हुन नदिन ध्यान दिनुपर्ने विषयबारे जानकारी दिइएको थियो।

घोराही उपमहानगरपालिका वडा नं। १३ स्थित बादी समुदायमा सञ्चालन गरिएको नमूना मतदान केन्द्रमा ५७ जनाले मतदान गर्नभएको मतदान शिक्षा निर्वाचन अधिकृतको रुपमा रहेकी प्रमिता चौधरीले जानकारी दिइन् । जसमध्ये प्रत्यक्षतर्फ १ मत र समानुपातिकतर्फ २ मत बदर भएको उनले बताइन् । नमूना मतदानमार्फत सहभागीहरूले सही तरिकाले मत हाल्ने सीप सिकेको उनको भनाइ छ ।

नमुना मतादातामा सहभागी भएकी पूजा बादीले पहिलो पटक मतदाता शिक्षामा सहभागी हुन पाउदाँ धेरै खशी लागेको बताइन् । ‘‘यो वर्ष म मतदाताको रुपमा मतदान गर्दै छु, कसरी मतादन गर्ने होला भन्ने लागेको थियो,’’ उनले भनिन् , ‘‘तर, मतदाता शिक्षामा भाग लिएपनि आफु मतदान गर्ने बारेमा प्रष्ट भए ।’’

यस्तै शान्ता बादीले पनि आफ्नो समुदायमा मात्र नभई ग्रामीण वस्तिमा मतदाता शिक्षा अनिवार्य रहेको बताइन् । यस मतदाता शिक्षाले आफुसहित समुदायलाई नै आगामी निर्वाचनमा सही ढङ्गले मतदान गर्ने आत्मविश्वास बढेको उनले बताइन् ।