इन्द्रेणी समाचारदाता
घोराही, १६ मंसिर । घोराहीका नेवार समुदायका अगुवाहरुले बामगठवन्धनका उम्मेदवारहरुलाई मिलेर दाङको विकासमा लाग्न सुझाव दिएका छन । बामगठवन्धनको तर्फबाट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा र प्रदेशसभा २(२) का उम्मेदवार शंकर पोख्रेललाई एक कार्यक्रमको आयोजना गरी मिलेरै दाङको विकास गर्न सुझाव दिएका हुन ।
नेवाः दवु दाङका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवार समुदायका अगुवाहरुले दुवै पार्टी मिलेर चुनावमा आएजस्तै भोलीका दिनमा पनि मिलेर दाङको विकासमा लाग्न सुझाव दिएका हुन । संस्थाका अध्यक्ष श्रेष्ठले भने,– जसरी पार्टी मिलाएर आउनुभयो, भोली पनि दाङको विकासमा मिलेर काम गर्नु होला हाम्रो साथ सहयोग हुनेछ ।
विभिन्न सात बुदे ज्ञापनपत्र बुझाउदै उनले नेवार समुदायको सामाजिक, साँस्कृतिक एवं व्यवसायिक हितकालागि काम गर्न दुवै उम्मेदवार महरा र पोख्रेललाई आग्रह गरे । सो अवसरमा बोल्दै उपप्रधानमन्त्री एवं निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले नेवार समुदायले बुझाएको ज्ञापनपत्रका अधिकांश वुदा माओवादी केन्द्रकै एजेण्डा रहेकाले त्यसलाई सफल बनाउन आफु लाग्ने प्रतिवद्धता जनाए ।
उनले दाङलाई प्रदेशको राजधानी बनाउने र त्यसको नेतृत्व गर्ने गरी उम्मेदवार समेत तयार गरिसकेकाले ढुक्क हुन आग्रह गरे । महराले भने– प्रदेशको नेतृत्व शंकर जी ले र केन्द्रको नेतृत्व म आफैले गर्दैछु, हामी दुवैलाई जिताएर दाङले प्रदेश र केन्द्रको नेतृत्व दाङले गर्ने अवसरलाई सदुपयोग गर्न सवैको सहयोग चाहिन्छ ।
यसैगरी नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं निर्वाचन क्षेत्र नं। २(२) का प्रदेशसभा सदस्यका उम्मेदवार शंकर पोख्रेलले दाङको विकास गर्नका लागि भोलीका दिनमा कुनै समस्या नहुने प्रतिवद्धता जनाए ।
बामगठवन्धनको प्रदेश र केन्द्रमा बहुमत आउनेमा शंका छैन, हामी आफै नेतृत्व तहमा पुग्दा भोली दाङको विकासमा कुनै समस्या हुदैन पोख्रेलले भने – तर सहयोग र चासो दाङवासीको हुनुपर्छ । उनले विश्वमा नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा चिनाउने नेवार समुदाय नै भएको चर्चा गर्दै यस समुदायको कला, संस्कृतिको विकासमा आफू लाग्ने प्रतिवद्धता जनाए ।










