काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आइतबार दिल्ली प्रस्थान गर्दैछन् । मङ्सिर ६ र ७ गते भारतको दुई दिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिउँसो पौने २ बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली जाने तय भएको छ ।
शुक्रबार मात्र दुई देशका सरकारले एकै समयमा उनको औपचारिक भ्रमणको घोषणा गरेका थिए । भारत सरकारले प्रधानमन्त्री शाहको स्वागतको भव्य तयारी गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दिल्ली गेटआसपास तथा हैदराबाद हाउसआसपासका प्रमुख सडकमा दुई देशको झन्डा फहराइएको छ । प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नुहुने तय भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।
भ्रमणका अवसरमा दुई देशका विभिन्न मन्त्रालय तथा निकायबिच हुने सम्झौता, समझदारी एवं लगानी प्रवर्धनसम्बन्धी कार्यक्रममा समेत सहभागिताका लागि निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी तथा निजी खर्चमा पत्रकारको टोली पनि दिल्ली पुग्ने भएको छ ।











