दाङ । दाङमा अनलाइनमार्फत जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न संलग्न भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका छन् । दाङको लमहीमा अनलाइनमार्फत जुवा तथा सट्टेबाजी खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एन्ड लजको तेस्रो तलामा रहेको २०३ नम्बर कोठामा अनलाइन जुवा तथा सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मङ्सिर ४ गते राति १० बजे तुलसीपुरस्थित तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लमहीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा डेल कम्पनीका तीन थान ल्यापटप, विभिन्न कम्पनीका १३ थान स्मार्टफोन र दुई थान कम्प्युटर मनिटर प्रयोग गरी विभिन्न एपमार्फत अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने र खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको मध्यप्रदेश भोपालका २४ वर्षीय जसवन्त सिंह तोमर, २४ वर्षीय सत्यम राजपुत, २४ वर्षीय हर्ष सिंह भनिने हर्ष उसरेटे, २७ वर्षीय राहुल चन्द र नेपालको डोटी दिपायल सिलगढी नगरपालिका–३ का ३२ वर्षीय सागर राना रहेका छन् ।