इन्द्रेणी संवाददाता
दाङ, १६ मंसिर । निर्वाचन आयोगका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले कुनै पनि हालतमा कसैलाई कहीपनि बुथ कव्जा गर्न नदिने बताएका छन् । मंसिर २१ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोग प्रतिवद्ध भएकाले समेत उनले बताए । दाङको घोराहीमा आज शनिवार जिल्ला प्रशासन कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्त पौडेलले निर्वाचनको तयारी पूरा भएको र दोस्रो चरणमा हुने ४५ जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन हुने दावी गरे ।

eshair copyनिर्वाचन आचारसंहित उलंघन गरेकालाई किन निर्वाचन आयोगले कारवाही गर्दैन भन्न्े सञ्चारकर्मीहरुको जिज्ञासामा पौडेलले दलहरु निर्वाचन आचारसंहित पालना गर्ने प्रतिवद्धता जनाइसकेकाले उनीहरुले पूर्णरुपमा निर्वाचन आचारसंहित पालना गर्नेमा आफूहरु ढुक्क भएको बताए । उनले स्थानीय निर्वाचन पनि दाङमा शान्तिपूर्ण भएको र मंसिर २१ गतेको चुनावलाई पनि शान्ति पूर्ण बनाएर नमुना बन्न दाङवासीलाई अपिल गरे ।

कार्यक्रममा दाङ जिल्लाका प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले जिल्लामा निर्वाचनको तयारी करीव करीव पूरा भएको जानकारी दिदै अहिले जिल्लाका ३९४ मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई नियुक्त पत्र र पारिश्रमिक दिने काम भइरहेको र आइतवारबाट निर्वाचन सामग्री उपलव्ध गराएर कार्य स्थलतर्फ पठाइने बताए ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जिल्लामा शान्ति पूरा रुपमा निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षाको कुनै पनि कसर बाँकी नराख्ने बताए । उनले जिल्लाको सुरक्षाका लागि करीव चार हजार एक सयभन्दा वढी प्रहरी, सेना सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए । त्यस्तै प्रदेश नं. ५ का प्रहरी प्रमुख मधुसुदन बुडासैनीले दाङसहित प्रदेश नं. ५ का जिल्लाहरुमा निर्वाचन सुरक्षा कडा बनाइएको जानकारी दिए । यहाँ अपुग भएका सुरक्षाकर्मीहरु बाहिरबाट झिकाइसकेको र सुरक्षा अत्यन्तै कडा बनाइएको उनले बताए ।