काठमाडौं । दुई दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्दैछन् । आइतबार दिल्ली पुगेका शाहले ताज होटल पुगेको केहीबेरमै भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गरे।

आज प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग आज हैदराबाद हाउसमा भेटवार्ता गर्ने तालिका छ। त्यस क्रममा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी), डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिसँगै सार्वजनिक गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन्।

आजै दिउँसो सवा ३ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। राष्ट्रपतिसँगको भेट सकिएलगत्तै दिउँसो ४ बजेर ५० मिनेटमा उनी नयाँ दिल्लीबाट स्वदेश फर्कने छन्।