एजेन्सी २० पुस । गएको वर्ष बहराइनमा ११ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नौ जना पुरुष र दुई जना महिला छन् ।
अघिल्लो वर्ष बहराइनमा १० जना नेपालीले ज्यान गुमाएका थिए । हृदयघात, मस्तिष्क पक्षघात तथा ‘सडेन कार्डियक एरेस्ट’ (सुतेको सुतै भएर ज्यान गएको) भएर ज्यान गुमाउनेको संख्या सबै भन्दा बढी छ ।
सुतेको सुतै भएर ६ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाएका दुई महिलाले झुण्डिएर आत्महत्या गरेका हुन । बाँकी तीन जनामध्ये एक जनाको उच्चरक्तचाप , एक जनाको मस्तिस्क पक्षघात र अर्का एकको मिर्गौलामा आएको खराबीका कारण ज्यान गएको हो ।
ज्यान गुमाउनेमा टिम्मा ९ खोटाङका शुभराज राई, बक्लौरी १ सुनसरीका खड्ग बहादुर खड्का, बानेथोक देउराली ८ स्याङ्जाका टोप बहादुर मास्के, बेलबारी ३ मोरङकी रिता धिमाल, पुतली बजार १३ स्याङ्जाकी निता नेपाली रहेका छन् ।
त्यसैगरी बक्लौरी ४ सुनसरीका जीत बहादुर राई, रामेछापका रत्नबहादुर सुनुवार, खोटाङका चुडामनी प्रधान, काठमाडौंका मनोज थापा मगर, बाँकेका नरबहादुर राना, स्याङ्जाका उर्जासिङ थापाको ज्यान गएको नेपाली दूतवासले जनाएको छ ।
