काठमाडौं । ‘अर्नब’ चक्रवातको प्रभाव कमजोर बन्दै गएको छ । चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। आज राति पनि देशभर आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ। भोलिदेखि मौसम सुधार हुने बताइएको छ । मौसममा सुधार आउने भएपछि किसानहरुले धानवाली भित्र्याउन शुरु गर्न सक्ने मौसमविदहरुको भनाइ छ ।