काठमाडौं । प्रतिनिधिसभामा झन्डै दुईतिहाइनजिक रहेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियासँगको साँठगाँठलगायत विवादमा मुछिएका न्यायाधीश हरि फुयालमाथि छानबिन गर्न महाभियोग सिफारिस समिति गठन प्रक्रिया अघि बढाउन संसदीय दललाई निर्देशन दिएको छ ।
न्यायाधीश फुयाल र बिचौलिया इनम सापकोटाबिच अस्वाभाविक संवाद भएको प्रमाण जुटे अन्य दलको सहमतिमा महाभियोग अघि बढाउने रास्वपाको निष्कर्ष छ । यसलाई रास्वपाले न्यायालयको पुनर्संरचनासँग पनि जोडेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश फुयाल र बिचौलिया इनम सापकोटाबिचको अस्वाभाविक संवादबारे नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि रास्वपा न्यायालयको पुनर्संरचना र न्यायाधीशमाथि महाभियोगको विकल्पमा अघि बढेको हो । सोहीअनुसार शनिबार बसेको सचिवालय बैठकले संसद्बाट महाभियोग सिफारिस समिति गठन गर्ने, समितिमा जुट्ने तथ्य–प्रमाणका आधारमा विपक्षी दलहरूलाई समेत सहमतिमा लिएर मात्रै महाभियोगबारे अघि बढ्ने निर्णय गरेको छ नयाँ पत्रिकामा खबर छ।











