दाङ, २० पुस । दाङ क्षेत्र नम्बर २ अन्र्तगत सञ्चालन हुने थालेको विद्यालय स्तरिय नवौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालनमा देखिएको विवाद समाधान भएपछि प्रतियोगिता तोकिएको मितिमा सञ्चालन हुने भएको छ ।
मावि झिङ्नी बन्जाडीमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिरहदा आयोजक र जिल्ला खेलकुद विकास समिति विचको समन्वयमा विवाद देखिएको थियो । दुई पक्ष विचमा जिल्ला शिक्षा कार्यालयमा भएको छलफलले प्रतियोगिताको कार्यक्रम यसअगाडी नै तोकिएको मितिमा अगाडी बढाउने निर्णय गरीएको छ ।
हिजो मात्रै तयारी अन्तिम चरणमा पुगेको बेला जिल्ला खेलकुद विकास समितिले मंगलबार आकस्मिक बैठक बसी प्रतियोगिता तत्काल स्थगित गर्न आग्रह गरेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादसर डाँगीको अध्यक्षतामा बसेको बैठकले नयाँ निर्देशिका आईनसकेको बेला पुरानै निर्देशिकामा रहेर प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता सञ्चालन पछि आउन सक्ने समस्यालाई आयोजकले नै समाधान गर्ने जिम्मेवारी लिए पछि खेलकुद विकास समिति प्रतियोगिता सञ्चालन गर्न सहमत भएको हो । समितिले पुरानो निर्देशिका अनुसार कार्यक्रम गर्दा ११ र १२ कक्षाका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिन नपाउने भन्दै प्रतियोगिताको तयारी अन्तिम भएको समयमा रोक्न भनेका थिए ।
तर जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले पुरानै निर्देशिका अनुसार काम गर्न सकिने बताएपछि दुवै पक्ष विच सहमती भएको हो । छलफलमा आयोजक विद्यालय मावि झिङ्नी बन्जाडीका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी, सहितको टोली सहभागि थियो भने खेलकुद समितिका अध्यक्ष डिल्ली डाँगी सहितको टोली सहभागि रहेको थियो ।