इन्द्रेणी संवाददाता
दाङ, २० पुस । दाङको त्रिपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि नगरपालिकाको समग्र विकासका लागि १५ करोड ५६ लाख ४९ हजार ४ सय रुपैयाँ बजेट प्रस्ताव गरेको छ । आज सम्पन्न तेस्रो नगरपरिषदबाट चालुतर्फ ५ करोड ६१ लाख ६६ हजार ४ सय र पूँजीगततर्फ ९ करोड ९४ लाख ८२ हजार ६ सय रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।
कार्यक्रममा आगामी आवको लागि नगरपालिकाले तयार पारेका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाले त्रिपुर नगरपालिका जिल्लाकै कान्छो नगरपालिका भए पनि नगरपालिकाले विभिन्न क्षेत्रमा समावेसी तरिकाले बजेट विनियोजन गरेको बताए ।
उनले नगरपालिकाले आगामी आवमा नगरपालिका क्षेत्रभित्र विभिन्न भौतिक पूर्वाधार विकास, कृषि तथा सिंचाइ, खेलकुल एवं पर्यटन, स्वास्थ्य, सरसफाइ तथा फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वसमान्य तथा प्रशासन मन्त्री रेखा शर्माले मानव विकास र भौतिक विकासलाई सँगसँगै लैजान सकिए मात्रै विकासको सार्थक परिकल्पना गर्न सकिने बताइन ।
सो अवसरमा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । परिषदको अवसरमा नगरपालिकालाई यहाँसम्म ल्याउन सहयोग गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।
