तुलसीपुर, २० पुस । राप्ती अञ्चलमा करीब ४० प्रतिशत करदाताले आय–व्यय विवरण बुझदैनन् । राप्ती अञ्चलमा दर्ता भएका करीव ३० हजार करदातामध्ये झण्डै ४० प्रतिशतले वार्षिक आय–व्यय विवरण नबुझाउने गरेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले जनाएको छ ।
कतिपय उद्योगी, व्यापारीले करमा दर्ता गरेपछि व्यापार बन्द गरेको लामो समयसम्म पनि आन्तरिक राजस्व कार्यालयलाई जानकारी नदिएको कार्यालयको भनाइ छ ।
उद्योग, व्यापार सञ्चालन भए करमा दर्ता हुन र बन्द भए जानकारी गराउनसमेत पटकपटक अनुरोध गरिँदै आएको कर कार्यालयले बताएको छ ।
विशेषगरी कर शिक्षाको बारेमा जानकारी नहुँदा कतिपय व्यापारी करको दायरामा नआएको भन्दै सबैलाई करको दायरामा ल्याउन पहल गरिएको छ ।
करको डर नभएर भर मान्नुपर्ने र कर तिरर ढुक्क भई व्यापार, व्यवसाय सञ्चालन गर्न जिल्लाका उद्योगी व्यापारीहरूलाई आग्रह गरिएको बताइएको छ । सरोकारवालाहरूले आफ्नै देशको विकासका लागि कर तिरेर सबैले सहयोग गर्नुपर्ने धारणासमेत राखेका छन् ।
