लमजुङ, २० पुस । लमजुङस्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले व्यवसायिकरुपमा बिजुली उत्पादन थालेको छ । २५ मेगावाट क्षमताको एउटा युनिटबाट मात्रै व्यावसायिक उत्पादन थालेको प्रवर्द्धक कम्पनी सिनोहाइड्रो–सगरमाथा पावर कम्पनी प्रालिले विगत तीन दिनदेखि अर्को युनिटबाट पनि व्यावसायिक रूपमा बिजुली उत्पादन थालेको छ ।
आयोजना र नेपाल बिजुली प्राधिकरणबीच आयोजनाको पिपिएका बेला पहिलो युनिटको सिओडी अर्थात् व्यावसायिक उत्पादन मिति तोकिएको तीन महिनापछि मात्रै अर्को युनिटको सिओडी गर्ने सम्झौता अनुरूप आइतबारदेखि प्राधिकरणले आयोजनामा जडित २५ मेगावाट क्षमताको अर्को युनिटको पनि सिओडी गरेको हो ।
उत्पादित बिजुलीको व्यावसायिक उत्पादन मिति तय गरेर नियमित उत्पादन थालिएको आयोजनाका जन सम्पर्क प्रमुख कर्ण अधिकारीले कारोबारलाई जानकारी दिए ।
“युनिट–२ बाट बिजुली उत्पादन थालेको ९ दिनमा प्राधिकरणले मिटरिङ युनिटमा बिजुली जडान गरिदिएको हो”, जन सम्पर्क प्रमुख अधिकारी भन्छन्, “अब दुवै युनिटको सिओडी भइसकेको छ । उत्पादित बिजुली १३२ केभीको प्रसारण लाइनबाट मध्यमर्स्याङ्दीमा गएर मिसिएको छ ।”
आयोजनाबाट वार्षिक रूपमा उत्पादन हुने ३१७ गिगावाट बिजुली किन्ने सम्झौता प्राधिकरणले आयोजनासँग गरेको छ । आयोजनामा जडित २५–२५ मेगावाट क्षमताका दुई टर्बाइन रहेपनि मर्स्याङ्दीमा पानीको बहाव कम भएका कारण आयोजनाबाट ३७ मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ । सन् २०१३ को जनवरीदेखि निर्माण कार्य प्रारम्भ गरेको आयोजनाले निर्धारित समयमै आयोजना निर्माणको कार्य सम्पन्न गरेको हो ।











