इन्द्रेणी संवाददाता
घोराही, २७ मंसिर । स्वर्गीय साहित्यकार नित्यानन्द शर्माको स्मृतिमा ५०÷५० हजार राशीका दुई वटा पुरस्कार अक्षयकोष स्थापना गरिएको छ । १३ औं दिनको पुण्यतिथिको अवसर पारेर शर्माको परिवारले राप्ती साहित्य परिषद् र लेखक संघको स्वामित्वमा रहने गरी दुइवटा पुरस्कार अक्षयकोष स्थापना गरेका हुन् ।
राप्ती साहित्य परिषद्मा ५० हजार रुपैयाँको नित्यानन्द प्रज्ञा पुरस्कारको अक्षयकोष स्थापना गरिएको हो भने लेखक संघ दाङमा ५० हजार रुपैयाँ राशीकै नित्यानन्द साहित्य प्रतिभा पुरस्कारको स्थापना गरिएको हो । शर्माकै घर अम्बापुरमा आज (सोमबार) परिवारजनले सो अक्षयकोषको रकम सम्बन्धित संस्थाहरुलाई हस्तान्तरण गरेका हुन् ।
उक्त पुरस्कार अक्षयकोषबाट आउने व्याजबाट हरेक वर्ष दुबै संस्थाका स्थापना दिवसको अवसरमा एक जना साहित्यकारलाई पुरस्कृत गर्ने शर्माका निकट मित्र साहित्यकार उत्तमकृष्ण मजगैंयाँले जानकारी दिए ।
राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता, पूर्व जिल्ला न्यायाधिश नारायणप्रसाद धितालको प्रमुख आतिथ्य एवम् लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार नित्यानन्द शर्माकी श्रीमती कालिकादेवी खनालले सो पुरस्कारको अक्षयकोष हस्तान्तरण गरिएको थियो ।