चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपा नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् ।

आजदेखि चितवनमा सुरु भएको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रम शाहले भने, “गाडीमा ब्रेकको चिन्ता लोकल सडकमा हिँड्दा मात्र हुन्छ । हाम्रो गाडी कुनै लोकल सडकमा होइन, ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ, जुन गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ ।”

संसद्‍मा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस (बेलायत) सँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “हामीसँग कालापानी र लिपुलेक नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ । तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौँ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका हैनौँ ।”

छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफैँ संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै उनले आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शङ्का नगर्न आग्रह गरे ।