काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तापलहर (लू) बाट जोगिन नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालपनि तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै मन्त्रालयले यसबाट बच्न नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

मनसुन सुरु भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले तापलहरबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

तातो हावा लूबाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाइएको छ ।

के हो ‘लू’ ?
तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आर्द्रतासँगै देखिन्छ । कुनै क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गरिन्छ । लू का कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन), हिट स्ट्रोक तथा मुटुसम्बन्धी समस्याको जोखिम बढ्न सक्छ ।