दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । एमालेको तर्फबाट चार मन्त्रीलाई राजीनामा दिन लगाएर आचार्यले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
पुनर्गठित मन्त्रिपरिषदमा पाँच जना नयाँ मन्त्री समावेश गरिएको छ। नेकपा एमालेबाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त गरिएको छ ।
जसमा एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।
मुख्यमन्त्री अचार्यको निर्देशनमा बुधवार मात्रै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका थिए।











