काठमाडौं । विहीबार दिउँसो भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । चालक दलसहित २४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै दुर्घटना भएको थियो ।
दुर्घटनामा एक जना वेलायती नागरिकबाहेक अरू सबैको ज्यान गएको एयर इन्डियाले पुष्टि गरेको छ । दुर्घटनामा बाँच्न सफल विश्वास कुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ ।
विमानको सिट नम्बर ११ ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनाबाट जोगिए । दुर्घटनाग्रस्त एयर इन्डियाको उडानमा १६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगलका नागरिक र एक क्यानेडियन नागरिक थिए ।
यसैबीच टाटा समूहले आफ्नो कम्पनी एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
