सर्जन गौतम

बुर्जुवा लोकतान्त्रिक दल र वामपन्थी दलहरुकोबीचमा अन्य प्रवृत्तिहरु पनि विकास भएका छन् । जसमध्ये दुईथरी राजनीतिक प्रवृत्ति मुख्य छन् ।
एकथरीले जनचासोका केही विषयमा ‘पब्लिक सेन्टिमेन्ट’ अनुसार अलि चर्को एटेन्सन खिच्ने किसिमले विचार प्रवाह गर्ने गरिरहेका छन् । तर त्यस्ता संगठनहरुसँग समाज रुपान्तरणको खास दार्शनिक आधार र सुसंगत अर्थराजनीतिक प्रणाली भने हुँदैन ।
यस्तो विचारलाई ‘पपुलिज्म’ भनिन्छ । यस्तोमा समस्याको समाधान केही थान ‘इमान्दार ‘ व्यक्तिहरु हुन् वा एकथान देशभक्त हो भन्ने खालको विचार प्रवाह गरिन्छ । त्यसको परिणाम benevolent dictatorship ( परोपकारी तानाशाह ) खोज्ने जस्तो भ्रमपूर्ण बाटोतर्फ लैजान्छ । यसले समाजका समस्याहरु प्रायजसो प्रणालीगत संकटका परिणाम हुन्छन् भन्ने कुरो देख्न र बुझ्न सक्दैनन् ।
अहिले रास्वपा अन्तर्गत आएको प्रवृत्ति पपुलिज्मको बाटोमा लागेको देखिन्छ । कम्तीमा रवी लामिछानेको प्रवृत्ति पपुलिज्म नै हो । यद्यपि यसमा स्वर्णिम वाग्ले लगायतले यस पार्टीलाई बुर्जुवा लोकतान्त्रिक धारमा लैजान प्रयत्नरत रहेजस्तो लाग्छ तर उनको स्ट्रेन्थ पार्टीमा पोलिसी मेकिङमा हस्तक्षेप गर्व सक्ने खालको देखिन्न ।
रवी लामिछाने गणतन्त्र र राजतन्त्रमध्ये कुन व्यवस्था राम्रो भन्नेमा पनि क्लिएर छैनन् – तर आफुलाई लुटतन्त्रको विरोधमा रहेको बताएर प्रश्न टार्ने हिसाबले मिडियामा प्रस्तुत हुन्छन् । गणतन्त्रका नेताहरुको लुटतन्त्रको त बाँकी सबैले विरोध गरेका छन् नि । तर राजतन्त्र र गणतन्त्रकाबीचमा कुन ठिक भन्ने प्रश्नको सिधा जवाफ दिन नसक्ने पनि राजनीतिक नेता हुन्छ त ? गणतन्त्रकै पक्षमा उभिनुपर्छ भन्ने करकाप पनि छैन – सिपी मैनाली जस्ता कुनैबेलाका विद्रोही कम्युनिष्ट अहिले राजतन्त्रको पक्षमा उभिएका छन् । तर दृष्टिकोण सम्म त क्लिएर हुनुपर्‍यो ।
त्यसकारण पपुलिज्मको आधारभूत प्रवृत्ति सामान्यत: दक्षिणपन्थी नै हुन्छ । पपुलिज्मको प्रवृत्तिभित्र धेरैजसो नेपाली कांग्रेसका बाइप्रोडक्टहरु छन् । यद्यपि भीम रावलजस्ता पपुलिस्ट प्रवृत्तिहरु एमालेबाट पनि जन्मिएका छन् । पपुलिज्मको हावा चलेको बेला माओवादी शिराबाट लेखनाथ न्यौपाने , राम कार्की , काङ्ग्रेसबाट चन्द्र भन्डारी, समाजवादीबाट रामकुमारी झाँक्री लगायतमा पनि पपुलिज्मको प्रवृत्ती देखा पर्‍यो भने आश्चर्य मान्नु पर्दैन ।
अर्कोतिर माओवादी आन्दोलनबाट विभाजित केही पक्षहरुमा वामपन्थी लफ्फाजी हावी भएको देखिन्छ । वामपन्थी लफ्फाजीको प्रवृत्ति परिस्थितिको ठोस विश्लेषण भन्दा पनि नारामा ठूला ठूला क्रान्तिकारी नारा लगाउने प्रवृत्ति यसमा हुन्छ । अन्तत: दक्षिणपन्थलाई सहयोग पुर्‍याउने यस प्रवृत्तिले तत्काल चाहिँ वामपन्थी भड्कावलाई जन्म दिने सम्भावना बढी हुन्छ ।लोकतान्त्रिक गणतन्त्रको रक्षा नगरिकन ‘ जनगणतन्त्र’ वा समाजवादी गणतन्त्रमा कुद्न चाहने यो प्रवृत्तिले अन्त्तत: प्रतिगमनलाई नै सहयोग पुर्‍याउँछ ।
जनवादी क्रान्तिको कार्यभार नै पूरा नगरी समाजवादी क्रान्तिमा अगाडि बढ्छौँ भन्ने प्रवृत्ति लफ्फाजीको प्रवृत्ति हो । जनवादी क्रान्तिको कार्यभार सामन्तवादको अन्त्य र साम्राज्यवादी शोषणको अन्त्य नै हो । सामन्तवादलाई एकस्तरसम्म पराजित गरेपछि नेताहरु सबै दलाल पुँजीवाद र काँठे ( क्रोनी ) पुँजीवादका कारिन्दा बने । अनि जनवादी क्रान्तिको कार्यभार कहाँ पूरा भयो त ?

माओत्सेतुङले जापानसँग लडेजस्तो साम्रज्यवादसँगको लडाइ सधै प्रत्यक्ष युद्ध मात्र हुन्छ भन्ने होइन । अहिलेको अवस्थामा साम्राज्यवादी शोषण पहिले त वित्तीय पुँजीकैरुपमा आउँछ नि । यसका विरुद्ध लडेर राष्ट्रिय पुँजीको विकास गर्नु चुनौती हो अहिलेको । त्यसको लागि कांग्रेस, एमाले र माओवादीका नेताहरुको ‘दलाल’ प्रवृत्ति विरुद्ध लड्ने मुख्य कार्यभार थियो अहिलेको । तर बीचमा सामन्तवादका प्रेतहरु सलबलाएकाले लडाई त्यहाँ केन्द्रित हुने भयो र दलाल पुँजीवादको विरुद्धको लडाइ थोरै सुषुप्त हुने भयो ।
त्यसकारण प्रतिगमनविरुद्धको लडाइ पेचिलो बनेको र साम्राज्यवादसँग साँठगाँठ गरेको सामन्तवादसँग लड्नु परेको यो घडीमा, पपुलिज्म र वामपन्थी लफ्फाजी विरुद्ध पनि कमसेकम वैचारिक स्तरमा प्रतिवाद गर्नु जरुरी छ । वामपन्थी लफ्फाजीको प्रवृत्ति बोकेको विप्लव नेतृत्वको नेकपाले भने पछिल्लो समयमा कोर्स करेक्सन गरेको देखिन्छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा बहुमतजस्ता समूहले पनि कोर्स करेक्सन गर्न जरुरी देखिन्छ ।