इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले सुन चोरी गरेको आरोपमा एक जनालाई र चोरीको सुन किन्ने व्यापारी एक जना गरी दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन चोरी गर्ने घोराही १७ बस्ने वर्ष २७ को शरद विश्वकर्मा र सुन किन्ने घोराही १४ स्थित जय मसिह सुन चाँदी गहन पसलका व्यापारी गुणरत्न शाक्य रहेका छन् ।
विश्वकर्माले चैत ६ गते घोराही १५ एकता टोल बस्ने तेजकुमारी बुढाथोकीको घरबाट सुन,चाँदी चोरेको खुलेको छ । सुन चोरको प्रहरीमा परेको निवेदन अनुसार जोज्दै जाँदा विश्कर्मालाई लमही ६ अर्जुनखोला नजिकैबाट चैत १८ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउपछि अनुसन्धानका क्रममा चोरीको सुन शाक्यले किनेको खुलेपछि सुन व्यापारी शाक्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुन पसलबाट चोरी प्रहरीले स्वरुप परिवर्तन गरेका ४ आनाका सुनका डल्ला २ थान, ६ आनाको डल्ला १ थान, एक तोला ८ लाल तौल भएका १ थान, सुनको लकेटसहितको सिक्री एक थान, चाँदीको पाउजु एक जोर र चाँदीकै हातमा लगाउने बाला एक जोर बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
यसैगरी नगद ५० हजार चोरी गर्ने घोराही १७ बस्ने २५ वर्षका रोशन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । चौधरीले चैत १५ गते घोराही १३ खरकट्टी बस्ने मनिषा रोकाको घरबाट उक्त नगद चोरी गरेको प्रहरीले जनाएको छ ।











