काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमहानिर्देशक प्रदीप अधिकारीसहित १४ जना विरूद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार उनीहरूसँग अख्तियारले ३ अर्ब ६५ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

सो प्रकरणमा पूर्वसचिव, उच्च सरकारी अधिकारी र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौताविपरीत चिनियाँ ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याइएको निष्कर्षसहित आरोपपत्र दायर गरिएको हो। नेपाल सरकारले ऋणस्वरूप प्राप्त सार्वजनिक सम्पत्तिमध्येबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ हिनामिना, हानिनोक्सानी र दुरुपयोग भएको आयोगको दाबी छ।