काठमाडौं । राजतन्त्र ल्याउने भन्दै आज काठमाडौंमा गरिएको राजावादी पक्षधरको आन्दोलन अराजक देखिएको छ । कार्यक्रमस्थल तिनकुनेमा राजावादी समर्थक प्रदर्शनकारीहरुले एउटा निजी घरमा आगो लगाइदिएका छन् । घरमा तोडफोड गर्नुका साथै घरमा आगो लगाएका हुन् ।
आजै काठमाडौंमा गणतन्त्रवादीहरुको पनि प्रदर्शन भएकाले मुटभेटको अवस्था आउन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौले राजावादीहरुलाई तिनकुनेमा स्थान तोकिदिएको थियो । तर उनीहरुले त्यहाँ प्रशासनले तोकेको सुरक्षा घेरा तोडनखोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीले उनीहरुको अराजक गतिविधि रोक्नका लागि पहिले असुरग्यास प्रहार गरेको थियो भने पछि पानीको फोरासमेत हानेको थियो । ती घरमा बसेर प्रहरीले अश्रुग्यास हानेको प्रदर्शनकारीको आरोप छ। तर प्रहरीले ती घरमा बसेर अश्रुग्यास प्रहार नगरेको दाबी गरेको छ।
शान्तिपूर्ण प्रदर्शन गर्ने भनिएपनि अराजकशैलीमा उनीहरुले त्यहाँस्थित एउटा निजी घरमा तोडफोड गर्नुका साथै आगो लगाइदिएका हुन् । तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं आह्वानमा प्रदर्शन भएको थियो ।












