भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई ‘मिनी नेपाल’ को संज्ञा दिँदै यस क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामथ्र्य विषयक अन्तरक्रियाको चौथो सत्र ‘अलमलमा अर्थनीति र राजनीति’ शीर्षकमा बोल्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई पर्यटकीय र कृषि दृष्टिकोणले प्रचुर सम्भावना भएको क्षेत्रका रूपमा प्रस्तुत गरे ।
“लुम्बिनीमा पर्यटकीय, कृषि र अन्य धेरै हिसाबले प्रचुर सम्भावना छ । लुम्बिनी प्रदेशमा हिमाल, पहाडदेखि तराईका जिल्ला सम्म रहेका छन् । गौतम बुद्धको जन्मस्थलका कारण ऐतिहासिक महत्व भएको यस स्थानले मात्र बुद्धिजम नभई हिन्दू धर्मका लागि पनि सांस्कृतिक महत्व राख्छ”, उनले भने । लुम्बिनीमै रहेका तीन वटा राष्ट्रिय निकुञ्जको बारेमा चर्चा गर्दै लुम्बिनी मिनी नेपालको रुपमा परिचित भएको बताए ।
प्रदेश सरकारको कामलाई गति दिइएको बताउदै उनले भने, “तीन तहको सरकारको हकमा समन्वय र सहकार्यको आधारमा काम अघि बढाएका छौं । कानुनले निर्दिष्ट गरेका कार्यहरूलाई अघि बढाएका छौं । संघीय सरकारमार्फत प्रदेशका सचिव र मुख्य सचिवलाई आउनको लागि अनुरोध गरेका छौं । प्रमुख सचिव संघीय सरकारले पठाए पनि मन्त्रालयको सचिव प्रदेशबाटै नियुक्त गर्नुपर्ने निवेदन गरेका छौं । सबै हिसावले प्रदेशलाई बलियो र समृद्ध बनाउने दिशामा सरकारले काम गरिरहेको छ ।” प्रदेश सरकारले कर्मचारीको वृद्धिविकासमा रोक लागेको अवस्थामा ऐन निर्माण गरेर खोलिसकेको बताए ।











