बाँके । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत नेपालगञ्ज विमानस्थलबाट नगदसहित पक्राउ परेका छन् । विमास्थलबाट अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
अधिकृत सापकोटालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले बताए । ‘विमानस्थलभित्रबाट प्रहरीले २६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं’ डिएसपी डाँगीले भने, ‘यसबारे अन्य विषयमा अनुसन्धान भइरहेको छ ।’
नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको थियो । विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौं जाने तयारीमा थिए ।
विमानस्थलमा चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो । अर्को अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ । स्क्यानिङ मेसिनबाट चेकजाँच गर्ने क्रममा सापकोटाको झोलामा लाखौं रकम फेला परेपछि सुरक्षाकर्मीले उनलाई सोधपुछ गर्ने क्रममा केही पछाडि रहेका पौडेल फरार भएको प्रहरीले बताएको छ ।











