काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले काँग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताए ।
आतंकारीहरुलाई, असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भनेर डिएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरुलाई सरकारले किन पक्राउ नगरेको ? उनले प्रश्नसमेत गरे । पार्टी केन्द्रिय कार्यालय च्यासलमा तेजावबिरुद्ध आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने एक हप्ताअघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना गरे ।
काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको ओलीको भनाइ थियो । उनले भने, ‘ताप्लेजुङ जिल्ला डिएसपी राजन लिम्बू भन्ने मान्छे रहेछन् । केही आतंककारीहरुले उनको पनि हत्या गर्ने, उनको परिवारको पनि हत्या गर्ने आदि इत्यादि भनेर धम्क्याएर अनेका खालको एसएमएस पठाउने देखि लिएर के–के गरेका छन भनेर म अघि सुन्दै थिएँ । किनभने ती डिएसपी उनीहरुको साम्प्रदायिक विद्वेष, घृणाको, समाजमा हिंसा फैलाउने, त्रास फैल्याउने, समाज बिथोल्ने कुरामा सहभागी भएनन् । त्यस कुरामा असहमति रह्यो उनको । र, उनले डिएसपीको हैसियतले शान्ति सुरक्षा कायम गर्ने कर्तव्य पालना गर्छु भने । आतंकारीहरुलाई असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भने । साथ दिन सक्दिन भनेर समाजमा शान्ति सुव्यवस्था, एकताको पक्षमा कुरा गरे । त्यो कुरा सहन नसकेर तिमीलाई त मार्छौं नै । तिमीलाई मात्रै होइन, तिम्रा बालबच्चा, घर परिवार सबलाई पनि मार्छौं आदिइत्यादि भन्ने यो आतंकवाद बाहेक केही पनि होइन । यो आतंककारी क्रियाकलाप बाहेक केही पनि होइन । मैले आजको सन्दर्भमा फेरी यी कुराहरु किन उठाऊ ? भन्ने लागि राखेको पनि हो । तर, सरकारले आफैँले यस्ता कुराहरुलाई प्रोत्साहित गरिराखेको छ । बढाई राखेको छ । मार्छु भनिराखेको छ, सपरिवार मार्छु भनिराखेको छ । त्यस्ता मान्छेहरुलाई नियन्त्रणमा लिन्न । अस्ती यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त । पहिले नै, २/४ दिन अगाडि नै खुकुरी हान्छु भनेको थियो । लात्ति हान्छु भनेर खुट्टा उचालेकै थियो । अनेक गरेको थियो त ऊसले । मान्छेहरुको नाम लिएको थियो । मान्छेहरुको नाम लिइलिइकन काट्छु भन्दाखेरी सरकार कानमा तेल हालेर बसेको थियो । त्यो प्रवृत्ति उचित होइन । सामाजिक एकता, सामाजिक सद्भावमा आधारित एकता राष्ट्रिय एकता बनाउनुपर्ने हुन्छ ।’
