महेश के.सी
रुकुम ८ साउन । पोखरा ५ कि चम्पा वादीलाई अब भने आफ्ना दुःखका दिन सकिए जस्तो लाग्दैछ, गोठभरी बाख्रा छन् । दैनिक आवश्यक खर्चको जोहो गर्न अब उनलाई खासै गाह्रो छैन महिनामा १ बटा बाख्रा बेच्दा कम्तिमा १० हजार आउछ र त्यहि पैसाबाट उनले केही रकम दैनिक खर्चमा र केही रकम चाहि आफ्नै गाँउमा रहेको कृषी सहकारीमा जम्मा गर्छिन् । त्यति मात्र होईन बाख्रा पालबाट आएको आम्दनीबाटै उनले आफ्नो जेठो छोरालाई दांङमा विज्ञान बिषयमा प्लस–टु पढाई खर्च समेत धानेको छ ।
चम्पा वादी मात्र होईन यहाँका हरेक महिलासंग साना हुन् या ठुला आ–आफ्ना सफलताका कथाहरु छन् । आफ्नो सफलताको कथा संगै यहाँका महिलाहरु यतिबेला गाउको मुहार फेर्न लागिपरेका छन् । रुकुम सदरमुकाम मुसिकोटबाट करिब ३५ किलोमिटर उत्तर पुर्वमा रहेको पोखरा गाविस एक घर, एक सहकारी अभियानमा आवद्ध भएर गाविसभरीको कुल घरधुरी संख्या ८९६ मध्य हरेक घरको एक जना सहकारीमा सदस्यको रुपमा आवद्ध भई ८९६ सदस्य रहेको स्वावलम्बी कृषी सहकारी संस्था गठन गरी गाविसलाई नेपालकै दोस्रो पुर्ण सहकारी यूक्त गाविस समेत घोषणा गरिएको छ । यसका साथै यहाँका महिलाहरुको अगुवाईमा गाविसलाई पुर्ण मदिरा निषेधित क्षेत्रको रुपमा समेत घोषणा गर्ने र गाँउ–घरमा आउने पाहुनालाई स्थानिय घरहरुमा नै खान र वस्नका लागी होम स्टेको पनि थालनी गरी पोखरा गाउलाई नुमना वस्ती बनाउन महिलाहरु कम्मर कसेर लागेका छन् ।
‘गरे के हुदैन’ भन्ने भनाईकोे ताजा उदाहरण बनेको छ रुकुमको पोखरा । दिनभरीजसो रक्सी खाएर गाउ चहार्ने र साँझपख आएर घरमा हल्ला मच्चाउने गाँउकै लोग्ने मान्छेहरु पनि अब त श्रीमतिहरुलाई सघाँउन लागिपरेका छन् उनिहरुको दिन पनि मेलापात र घरमा श्रीमतीसंगै मिलेर काम गर्दै गरेर बितेको छ । गाँउमा जाति–जाति बिचको हेलाहोचो र असामानतामा पनि कमि आएको पाईन्छ । यसको ताजा उदाहरण गाँउभरीका महिलाहरुको बचतलाई व्यवस्थित गर्न सबैले चुनेर गाँउकै हिजोका दिनहरुमा दलित, तल्नो जाती भनेर हेला गरेको एक जना दलितको शिक्षित छोरी भगवती बिकलाई स्वावलम्वी कृषि सहकारी संस्था गठन गरी त्यसैको अध्यक्ष सर्बसम्मतीले चुनेर काम भैरहेको छ । भगवती विकलाई यति चाडै यस्तो परिववर्तण आउला जस्तो लागेका थिएन तर उनि पनि आज यो परिवर्तण देखेर दंग छिन् ।
उनि भन्छिन् ‘हिजो हामिलाई अछुत भनेर परै बस्न भन्थे तर अहिले गाँउका आमा,दिदीहरु म कहाँ नबुझेको कुरा सोध्न घरमै आउनुहुन्छ र म सिकाईदिन्छु ।’ अहिले गाउमा जातिय भेद्भाव लगभग पुर्ण रुपमा हटेको छ । यो नमुना काममा गाँउका पुरुषहरुको पनि मज्जाले साथ रहेकोले गर्दा पनि काम गर्न सकिलो भएको भनाई छ पोखरा ४ कि कलु खडकाको उनि भन्छिन् ‘पहिले हामि घर कुरेर बस्थ्यौं श्रीमानहरु बैठक भन्दै निस्कनुहुन्थ्यो र साँझ आउदा रक्सि खाएर गाँउ नै थर्काउनेगरी हल्ला गर्दे फर्कनुहुन्थ्यो तर आजभोली भने यि हामी बैठकमा आउछौ दिदी–वहिनी भेला भएर दुःख–खुखका कुरा गार्छौ र श्रीमानहरु घर कुरेर बस्नुभएको छ ।’ आफ्ना श्रीमतीहरु सातै पिच्छे हुने बैठक, भेला र छलफलमा सहभागी हुदाँ आफु चाहि घरको कामा व्यस्त हुनुपरेकोले गाँउका पुरुषहरुलाई पनि कुनै गुनासो छैन बरु उनिहरु महिलाहरुले थालेको गाँउ–वस्ती सुधारको अभियानमा साथमा साथ र हातमा हात दिएर लागिपरेका छन् ।
गाँउलाई पुर्ण रुपमा मदिरा मुक्त गाविस बनाउन महिला–पुरुष सबैको एकताले नै सम्भब भएको र अहिले गाँउमा कतै पनि स्थानिय रक्सि नपाईने भनाई छ स्थानिय महिला स्वयससेविका नुमेन्द्रा खड्काको । खड्का अनुसार आफुहरु जिल्ला प्रशासन कार्यालय रुकुममा गई प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख संग छलफलपछि स्थानिय प्रशासनको सहयोगमा स्थानिय मदिरा बाहेक लाईसेन्सवाला मदिरा पसल पनि बन्द भएकोे बताईन् । तत्काल गाविसका १ र ४ वडालाई परिक्षणका रुपमा पुर्ण मदिरा मुक्त गाविस बनाएको र यो अभियान पुरा गाबिसभरी नै संन्चालन गर्ने अनि जिल्लालाई नै मदिरामुक्त गाविस बनाउनका लागी समेत लाग्ने महत्वकांक्षी योजना रहेको छ पोखराका महिलाहरुको । स्थानिय प्रशासनको अनुरोधमा र सहयोगमा गाँउमा रहेका मदिरा स्टोरहरु तथा पसलहरुको दर्ता खरेजी प्रक्रियाको थालनी गरिएको छ । अब यसपछी गाँउमा मदिरा र मदिराजन्य पदार्थको बिक्र वितण गर्न पाईनेछैन ।
सबै किसिमले फाईदा हुने देखेपछी र गाँउ नमुना बन्ने र स्वास्थ्य संग समेत जोडिएको कुरा भएका कारण आफहरुले आफ्नो व्यक्तिगत फाईदा नहेरेको र आफ्नो मदिरा व्यवसायको लाईसेन्स खारेज गरी आफु अर्कै व्यवसायमा लाग्ने योजना छ पोखरा गाँउमै मदिरा पसल संन्चालन गर्दै आएका एक जना व्यवसायी विनोद ओलीको उनि भन्छन् ‘हाम्रै आमा, दिदीहरु र आफ्नै श्रीमतीले समेत मदिरा पसल नगर्न सल्लाह दिएपछि प्रहरीले पनि पत्र पठायो र ठिक लागेर पसलै बन्द गरियो ।’ आफुले पसल बन्द गर्नुपरेकोमा कुनै पछुतो नभएको बरु गाँउ–वस्ती नमुना बनाउने अभियानमा आफ्नो पनि रहयोग रहेको ठानेको ओलीको भनाई छ । स्थानिय होटेल व्यवसायी दलबहादुर विक पनि आफ्नो मदिरा व्यवसायको लाईसेन्स खारेजीको पक्रियामा रहेको बताउछन् । उनि भन्छन् ‘गाउमा रक्सि खाने मान्छे नै नभएपछि मेरा पसल चल्ने कुरा पनि त भएन अनि मैले मदिरा राखेर कनि खर्घेलो थाप्नु म पनि यो अभियानलाई सहयोग गर्छु ।’
गाविभरीका हरेक घर सहकारीमा आवद्ध भएपछि बचत गर्ने बानिको विकास हुने र जनताको जीवन स्तरमा भरपुर सुधार आउने अपेक्षाका साथ नेपालको दोस्रो राप्ती अंचलको पहिलो पुर्ण सहकारी युक्त गाविस घोषणा गरी गरी गाविसलाई सहकारीमा समेत नमुना बनाउन आफुहरु पनि लागिपरेको भनाई छ, जिल्ला सहकारी संघका सचिब रमेश खड्काको । खड्काका अनुसार एक व्यक्ति एउटा मात्रै सहकारीको सदस्य रहनुपर्ने र एउटा क्षेत्रमा एउटा मात्रै सहकारी हुने हो भने मात्रै सहकारी चलाएमान हुन्छ र उपभोक्ताहरुलाई बचत गर्न समेत सहज हुन्छ । यसकारण पोखरामा एउटा मात्रै सहकारी गठन गरी गाविसभरीका सबैलाई यसै सहकारी मार्फत नै बचत अनुरोध गरिएको छ ।
सहकारीमा आवद्ध भएका सबैलाई सहकारीका बारेमा ज्ञान छ कसरी बचत गर्ने र कसरी ऋण लिने भन्ने बारे पनि आधारभुत शिक्षा प्रदान भएका कारण काम गर्न सजिलो भएको स्वावलम्वी कृषी सहकारी संस्थाका व्यवस्थापक कृष्ण विकले बताए । आरम्भमा शुन्यबाट सुरु गरिएको सहकारीमा हाल रु. २,८९,९०० जम्मा शेयर रकम रहेको छ भने रु.१७,९०,२७८ रकम बचत रहेको छ । यसका साथै सहकारीमा २३,११,६७६ ऋण लगानी समेत गरिएको छ । आफ्नै आगनमा आफु सदस्य रहेको सहकारी मार्फत ऋण लिई छोराछोरीलाई बढाउन र अन्य आर्थिक गर्जो टार्न निकै सहज भएको र सहकारी मार्फत नै आफुहरु दैनिकी फेरिएको स्थानिय बताउछन् ।
आम्दनी भए मात्र बचत गर्न सकिन्छ भन्ने बुझाईका कारण हरेक टोल–टोलमा गठन गरिएका महिला समुह मार्फत विभिन्न आय आर्जनमा कामहरु पनि भैरहेका छन् । बाख्रा पालन, कृषी व्यवसाय, खुद्रा पसल, सिलाईबुनाई लगाएतका बिभिन्न व्यवसाय मार्फत गाविसका महिलाहरु कुनै न कुनै काममा व्यस्त रहेका छन् यसैबाट प्राप्त आम्दनीबाट केही बचतका साथै घर खर्च चलेकोमा उनिहरु मख्ख छन् ।
जिल्ला विकास समिति अन्तरगत पश्चिम उच्च पहडी गरिवी निवारण आयोजना र युएमएनको सहयोगमा नेपाल जजागरण मञ्चले विभिन्न परियोजना मार्फत सहजिकरण गरेर यस गाविसमा विभिन्न कार्यक्रम संन्चालन गरेका कारण पनि स्थानिय जनतामा जागरण पैदा भएको छ । सहकारी संन्चालन गर्नु प्राविधिक काम भएका कारण अरु धेरै प्राविधिक सिप र सवलिकरणका लागी थप सहयोगको जरुरत आफुहरुलाई पर्ने सहकारीकी अध्यक्ष भगवती विकले बताईन । गाँउलाई नमुना बनाई विकासको बाटोमा लम्कन आगामी दिनहरुमा पनि सबैको साथ आवश्यक रहेको र यसका लागी सहरोकवाला सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गरिदिन यहाँका महिलाहरुले अनुरोध गरेका छन् ।
यसरी गाविसभरीमा आमा, दिदी–वहिनीहरुको एकताका कारण गाविस नमुना बन्ने बाटोमा अग्रसर रहेको पोखराको यो सुन्दर उदाहरणले
गरेपछी सबै सम्भव छ भन्ने कुरालाई पुष्टी गरेको छ । साथै सिंगो जिल्लालाई पनि पाठ सिकाउन लागिपरेका यहाँका जनताहरुको अभियाले सबैतिर जागरण पैदा गरेको छ ।
फोटो क्याप्सनः
१. सहकारीमा बसेर सामुहिक छलफल गर्दै महिलाहरु ।
२. आफुले पालेका बाख्राहरुसंग रमाउदै स्थानिय चम्पा बादी ।
तस्विरहरु ः महेश के.सी.÷राजधानी
