घोराही । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले चुनावी नतिजाले जारी राजनीतिक अस्थिरता हटाउन नसक्ने बताउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा पराजयपछि मतदातालाई धन्यवाद दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले देशमा एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर राजनीतिक स्थिरता ल्याउने एमालेको अभियान असफल भएको प्रतिक्रिया दिनुभएको हो ।

‘समृद्धि ल्याउन बलियो राजनीतिक शक्ति आवश्यक पर्छ । तर यो चुनावले त्यो नतिजा दिन सकेन’– महासचिव पोख्रेलले भन्नुभयो– ‘एउटै राजनीतिक शक्तिको बहुमतको सरकार नबन्दा पहिलेकै राजनीतिक अस्थिरता कायम रहन्छ । त्यसले देशको विकास सम्भव हु“दैन भन्ने यसअघि नै प्रमाणित भइसकेको छ ।’

अहिलेको चुनावी नतिजाले देशलाई झन अस्थिरतातर्फ लैजाने जोखिम सिर्जना भएको महासचिव पोख्रेलको भनाइ थियो। ‘कसैको बहुमत नपुग्ने, मिलेर सरकार बनाउने, सत्ता जोगाउनेतर्फ केन्द्रित हु“दा देशको विकास र समृद्धि ओझेलमा पर्ने पुरानै समस्या दोहोरिने अवस्था छ’– पोख्रेलले भन्नुभयो– ‘अहिलेको जनादेशले मुलुकको राजनीतिलाई थप जोखिममा पार्ने देखिन्छ ।’ यद्यपि अबको सरकार नीति, विचार र एजेण्डामा आधारित भएर बनाउनुपर्ने उहा“को भनाइ थियो।

लोकतन्त्रमा हारजीत निरन्तर चल्ने प्रक्रिया भन्दै पोख्रेलले आफ्नो पराजयलाई पार्टी राजनीतिलाई सही दिशा निर्देश गर्ने अवसरका रुपमा लिएको बताउनुभयो । ‘राजकीय जिम्मेवारीबाट बाहिर रहनु सबै बिग्रियो भन्ने होइन बरु मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लैजान भूमिका खेल्छु’– महासचिव पोख्रेलले भन्नुभयो–‘आफूलाई अझ बढी मुलुकको राजनीतिलाई सुधारमा केन्द्रित गर्न चाहन्छु। मेरा लागि यो अवसर पनि हो ।’ साथै उहा“ले दाङको समग्र विकास र समृद्धिको यात्रामा आफू सदैव लाग्ने पोख्रेलले प्रतिबद्धता जनाउनुभयो ।

आफू मुख्यमन्त्री हु“दा थालिएका कामहरु अलपत्र परेको स्मरण गर्दै पोख्रेलले यी कामलाई पूर्णता दिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । विजयी प्रतिनिधिहरुलाई कार्यकालको शुभकामना दिनुभएका पोख्रेलले जिल्लाको विकासमा सिंगो एमाले र व्यक्तिगतरुपमा आफू सधै जनता र जनप्रतिनिधिहरुको साथमा रहने प्रतिवद्धता जनाउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमाले निर्वाचन परिचालन निर्देशक समिति क्षेत्र नं. २ का संयोजक तथा नेकपा एमाले दाङका इञ्चार्ज नरुलाल चौधरीले विजयी उम्मेदवारहरुलाई शुभकामना व्यक्त गर्दै सूर्यध्वजावाहक उम्मेदवारलाई मतदान गर्ने मतदाता, निर्वाचनमा खटिने पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक, सहयोगी, राष्ट्रसेवक कर्मचारी, प्रहरी, प्रशासन, निर्वाचन अधिकृत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन एमाले दाङका सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो ।