इन्द्रेणी संवाददाता
पोखरा, ८ साउन । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । गठन भएको डेढ महिनापछि आज मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलले ११ वटै मन्त्रालयमा मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

gadakiकाँग्रेसकातर्फबाट बागलुङका मणीभद्र शर्मा कँडेल, स्याङ्जाका मेखलाल श्रेष्ठ र कास्कीका विन्दुकुमार थापा, माओवादी केन्द्रको तर्फबाट बागलुङका चन्द्रबहादुर बुढा सागर, स्याङ्जाका दिपक थापा र कास्कीका रामजी बरालले मन्त्री पदको आज सपथ लिएका हुन् ।

जेठ २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पोखरेलले सोही समयमा नेपाली काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र राजिव गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

सत्ता साझेदार दलहरूले मन्त्रीहरूको नाम टुङ्गाउँन नसकेपछि लामो समय मन्त्रिपरिषदले पूर्णता पाउँन सकेको थिएन । जेठ २९ गते नेकपा एमाले नेतृत्वको सरकारलाई विस्थापित गरी नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा प्रदेश सरकार गठन गरिएको थियो ।