उदय बीसी
दाङ, १० भदौ । दाङको घोराही उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहरमैलाबाट ग्यास उत्पादन गर्ने प्रक्रियाको काम तीब्र गतिमा भइरहेको छ । उपमहानगरपालिको वडा नं. १६ मा रहेको सेनेटरी ल्याण्डफिल्ड साइटको जग्गामा ग्यास प्लान्ट निर्माणको काम भइरहेको छ ।
गत मंसिर ५ गते उपमहानगरपालिकासँग भएको सम्झौता अनुसार नेपाल उर्जा विकास कम्पनी प्रालिले काम तीव्र रुपमा अघि बढाएको छ । २० वर्षसम्म ग्याँस उत्पादन गर्ने गरी सम्झौता गरेको उक्त कम्पनीले अहिले फोहरमैलाबाट ग्यास उत्पादन गर्न आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाएको नेपाल उर्जा विकास कम्पनीका प्रोजेक्ट मेनेजर हरिशरण श्रेष्ठले बताए । ‘योजना अनुसार काम तीब्र रुपमा भइरहेको छ’, उनले भने, ‘सकेसम्म समयमा काम सक्ने लक्ष्यका साथ भौतिक पूर्वाधारको काम गरिरहेका छौं ।’
उनका अनुसार अहिले उक्त क्षेत्रमा ग्यास उत्पादनका लागि प्लान्टको पिसिसी गर्ने काम सम्पन्न भएको छ । ग्यास उत्पादनका लागि एक ठूलो र दुई साना गरी तीन वटा ग्यास प्लान्टका लागि पिसिसी गरिएको छ । ‘ग्यास प्लान्टको पिसिसीको काम सम्पन्न भएको छ अब त्यसपछिका काम अघि बढ्दैछन् त्यसका लागि निर्माणका समाग्री ल्याउने काम भइरहेको छ’, प्रोजेक्ट मेनेजर श्रेष्ठले भने ।
कम्पनीले एक वर्षभत्रिमा ग्यास उत्पादनका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण गरिसक्ने छ । त्यसका लागि कामलाई तीब्र बनाएपनि निर्माणको समयमा केही समस्या आएको श्रेष्ठले बताए । केही व्यक्तिहरुले ग्यास प्लान्ट बनाउदा स्थानीयहरुलाई दुर्गन्दलगायतका समस्या हुने हल्ला फैलाएपनि स्थानीयले पनि आफूहरुसँग छलफल गरेको उनले बताए । सो क्रममा पोखरामा कम्पनलिे बनाएको एक यस्तै प्रकृतिको ग्यास उत्पादन प्लान्ट देखाएपछि स्थानीयहरु सहज भएको श्रेष्ठको भनाइ छ ।
सम्झौता अनुसार कम्पनीले काम गरिरहेको घोराही उपमहानगरपालिकाका उपमेयर सीता न्यौपाने सिग्देलले बताएन् । ग्यास प्लान्ट क्षेत्रमा जिम्मा पाएको कम्पनीले काम गरिरहेको र नगरपालिकाले पनि ग्यास उत्पादनका लागि फोहरको प्रकृति छुट्याउने काम गरिरहेको उनको भनाइ छ । जसको लागि उपमहानगरपालिकाले ल्यान्डफिल्ड साइटमा एउटा ठूलो भवन निर्माण गरिसकेको छ ।
उपमहानगरपालिका क्षेत्रबाट संकलित कुहिने फोहरबाट दैनिक एक हजार ३ सय किलो ग्यास र ६ टन जैविक मल उत्पादन गरिनेछ । उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर संकलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।











