राजेश जीसी
प्यूठान । आर्थिक वर्ष २०७४/७५ मा प्यूठानका स्थानीय तहको बेरुजू साढे ७ करोड रुपैयाँ देखिएको छ । सो अवधिमा जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामा ७ करोड ६५ लाख ४७ हजार रुपैयाँ बेरुजू रहेको महालेखा परीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार स्वर्गद्वारी नगरपालिकामा सबैभन्दा धेरै २ करोड रुपैयाँ बेरुजू रहेको छ । नगरका लेखा अधिकृत खगेश्वर अधिकारीले नगरपालिकामा धेरै बेरुजू देखिनुमा जनप्रतिनिधिको एकमुष्ट तलब भत्ता, नगरपालिकाको खानेपानी, विद्युत् महसुल तथा सञ्चार महसुल कारण रहेको बताए । ‘केही रकम अग्रिम बुझाउँदा तथा जनप्रतिनिधिले पहिला नै तलब लैजाँदा धेरै बेरुजू देखिएको छ,’ उनले भने ।
प्यूठान नगरपालिकाको करीब १ करोड रुपैयाँ बेरुजू देखिएको छ । त्यस्तै, नौबहिनीको १ करोड ३ लाख ५१ हजार, ऐरावतीको ५१ लाख ८५ हजार, मल्लरानीको २ लाख ४० हजार र गौमुखीको ९४ लाख १० हजार रुपैयाँ बेरुजू रहेको प्रतिवेदनमा उल्लेख छ । माण्डवी गाउँपालिकामा भने बेरुजू नभएको माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए । अभियानबाट











