उदय बीसी
दाङ, ८ भदौ । दाङमा दैनिक २० देखि २५ हजार लिटर दुध खपन हुने गरेको छ । जिल्लाका घोराही, लमही, तुलसीपुर, गढवा, भालुवाङ, नारायणपुर लगायतका ठूलो बजारहरुमा गरी दैनिक २० देखि २५ हजार लिटर दुध खपत हुने गरेको छ । तर यो उपभोक्ताको माग भन्दा कम रहेकोको उपभौक्ताहरु बताउछन् ।
अन्य समयमा केही पुगे जस्तो देखिए पनि चाड पर्वको वेला यहाँका डेरीहरुमा दुध तथा दहीको अभाव हुने घोराहीका उपभोक्ता राममणि पौडेल बताउछन् । ‘अब कृष्णअष्टमी, तीज जस्ता चाड पर्व नजिकै आएका छन् यतिवेला यहाँका डेरीहरुमा विहानै दुध दही सकिएको हुन्छ’, उनले भने, ‘चाडपर्वको समयमा आधा दिनसम्म पनि धान्ने दुध दही हुँदैन ।’
जिल्लामा डेरी व्यवसायीमा लगानी पनि ठूलो भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा ४५ वटा डेरी दर्ता भएका छन् । यी डेरी उद्योगमा रु. ३ करोड ७७ लाख १४ हजार लगानी भएको छ । अझ पछिल्लो चरणमा दुध तथा दुग्धजन्य पदार्थको माग बढ्दै गएकाले डेरी उद्योग खुल्ने क्रम पढेको दाङ जिल्ला डेरी व्यवसायी संघ दाङका सचिव शक्ति पौडेलले बताए ।
उनका अनुसार जिल्लामा चाडपर्वको समयमा दुध तथा दुग्धजन्य सामग्रीको अभाव नै हुने बताए । चिसो समयमा यहाँकै उत्पादनले धान्न सक्ने तर विशेष गरी चाडपर्वको समयमा वाहिरबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने वाध्यता छ । जिल्लामा दैनिक करीव २० देखि २५ हजार लिटरसम्म दुधको खपत हुने गरेको तर चाडपर्वको समयमा यसले उपभोक्ताको माग पुर्ति गर्न नसक्ने सचिव पौडेलले बताए । ‘चाडपर्वको समय वाहेक अन्य समयमा जिल्लाकै उत्पादनले धान्छ तर चाडपर्वको समयमा धान्न सक्दैन’, उनले भने,’दुध तथा दुग्धजन्य पदार्थको माग सिजन अनुसार थपघट भइरहन्छ ।’
चाडपर्वको समयमा यहाँका डेरी व्यवसायीहरुले बाँकेबाट दुध आयात गर्दै आएका छन् भने बैशाख, जेठमा दुग्धजन्य पदार्थ पनिरसम्म बाँकेबाट आयात हुन्छ । अण्डा तथा मासुजन्य बस्तुमा दाङ आत्मनिर्भर भएपनि दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर अझै हुन सकेको छैन । जिल्लामा दुधका लागि व्यवसायीक गाइपालन केही फस्टाउदै गए पनि व्यवसायीक भैसीपालन कम रहेको किसानहरु बताउछन् । बजारमा भैसीको दुधको माग समेत वढी भएकाले व्यसायिक भैसीपालन गर्नु आवश्यक रहेको किसान हर्कबहादुर खत्री बताउछन् ।











