काठमाडौँ, २ असार । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताए उनका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ ।
“पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्” उनले भने, “अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।” एकै पटकमा धेरै जनाले फाराम भर्दा सर्भरमा पनि बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ । आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो गोरखापत्र अनलाइन संस्करणमा खबर छ।
मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।











