काठमाडौं, १४ मंसिर । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाहरुले विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएको बताएका छन् ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताएका हुन् ।
‘गैरसरकारी संस्थाहरुले देशको विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएका छन्,’ उनले भने, ‘नागरिक समाज तथा नागरिक संगठनहरुले शान्ति, मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकको रुपमा आफ्नो भूमिका खेलिरहेका छन् ।’
नागरिक संगठनहरुले गर्ने निगरानीले राज्यलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने सभामुख महराले बताए ।
नागरिक संगठनहरुले राज्य र जनताबीच पुलको भूमिका खेल्न सक्ने बताउँदै सभामुख महराले भने, ‘सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा संकटको घडीमा स्थानीय समुदायहरुलाई राहत आपूर्ति गर्ने काममा नागरिक संगठन एवं गैससहरुले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु ।’
