लमही, १३ मंसिर । दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण गर्नुपर्ने कुल ३८ टावर मध्ये ३६ ओटाको निर्माण पूरा भइसकेको छ भने बाँकी दुईको निर्माण भइरहेको परियोजना प्रमुख दीपक गौतमले जानकारी दिए ।

power-lines-electrictनेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनमा १३ किलोमिटर तार तान्नुपर्नेमा अहिलेसम्म ५ किलोमिटर तार तानिसकिएको र बाँकी ८ किलोमिटर तार तान्ने काम एक हप्तामा शुरू हुने उनले बताए ।

‘निर्माणको काम करीब अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘पुस महीनाभित्रै निर्माण पूरा हुन्छ ।’ मुडवरी एण्ड जोशी कम्पनीले २०७० देखि उक्त प्रसारण लाइन निर्माण शुरू गरेको हो । ठेकेदार कम्पनीको लापरबाहीले २ वर्षभित्र सम्पन्न हुनुपर्ने सो प्रसारण लाइनको निर्माण कार्य ढिलाइ भइरहेको प्रमुख गौतमले बताए । ‘ठेकेदारको लापरबाहीले २ वर्षभित्र सकिसक्नुपर्ने काम ३७ महीनासम्म पनि पूरा हुनसकेको छैन,’ उनले भने ।

उक्त परियोजना सम्पन्न भएपछि घोराही क्षेत्रमा विद्युत्को कम भोल्टेजको समस्या अन्त्य हुने तथा प्रसारण तथा वितरण प्रणालीमा समेत सुधार आउने प्रमुख गौतमले जानकारी दिए । सो प्रसारण लाइनबाट दाङका सिमेन्ट उद्योगहरू तथा तुल्सीपुरसम्म विद्युत् पुग्नेछ । गौतमका अनुसार हापुरेको प्रसारणलाइन नबन्दासम्म तुल्सीपुरमा यही प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुनेछ ।

झिग्नी–माडीचौर प्रसारणलाइन
यसैबीच दाङको झिग्नीदेखि रोल्पाको माडीचौरसम्म १३२ केभी प्रसारणलाइन आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रोल्पाको माडीचौरमा विद्युत् सेवा पुर्‍याउन दाङबाट १३२ केभी विद्युत् रोल्पा लैजान लागेको आयोजना प्रमुख बलभद्र अधिकारीले जानकारी दिए ।

त्यसका लागि झिग्नीमा ट्रान्सफर्मर निर्माण भइसकेको छ भने रोल्पाको माडीचौरमा पनि ट्रान्सफर्मर निर्माणको प्रक्रिया चलिरहेको छ । ३७ किलोमिटर दूरीको सो प्रसारण लाइन निर्माणका लागि अहिले वातावरण अध्ययन भइरहेको उनले बताए । ५ वर्षभित्र निर्माण सम्पन्न हुने सो परियोजनाको लागत करीब रू। १ अर्ब ५० करोड रहेको पनि उनले जानकारी दिए । रासस