घोराही, १३ मंसिर । घोराही उपमहानगरपालिकाका वडाहरुमा गठित बालक्लबले क्रियाशीलताका लागि आफ्नो भूमिका खोज्न थालेका छन् । उपमहानगरपालिकाले यसै वर्षदेखि हरेक वडामा समुदायमा बाल क्लब गठनलाई अनिवार्य गराएपछि गठन गरिएका बाल क्लबहरुले संरचनामा मात्र नभएर आफूहरुको सक्रियताका लागि सहयोग गर्न अभिभावक, समुदाय एवं वडालाई आग्रह गरेका हुन् ।
हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालले उपमहानगरका वडाहरुमा गरेको बालबालिका र अभिभावकहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले बालबालिकाहरुलाई कमजोर नठानेर उनीहरुको सकारात्मक प्रयासमा साथ दिन सम्बद्ध सबै निकायहरुलाई आग्रह गरेका थिए ।
अन्तक्र्रियामा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. ११ को संघर्षशील बाल क्बलका अध्यक्ष उषा कवँरले बालबालिकाहरुको प्रयासमा अभिभावक एवं समुदाय दुवैको सहयोगको खाँचो रहेको बताए । बालबालिकासँग सम्बन्धित विषय मात्र नभएर सामाजिक विषयमा पनि बालक्लबले अग्रसरता देखाउँदा परिवार एवं समाजबाट सहयोग नपाएको उनले गुनासो छ ।
“बालबालिकामाथि हुने हिंसा, बालअधिकारसम्बन्धी चेतना, टोलको सरसफाई जस्ता काममा क्रियाशील हुन बाल क्लब तयार छ” अध्यक्ष कवँरले भने, “हामीसँग अनुभव छैन तर काम गर्ने जोश जाँगर छ, यसमा सबैको सहयोग भयो भने अवश्य पनि सफल हुनेछौँ ।”
घोराही १७ को सूर्योदय बाल क्लबका सुदन पौडेलले वडाका बालबालिकाहरुमा दुव्र्यसन बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि परिवार, समुदाय एवं प्रहरीको सहयोग आवश्यक रहेको बताए । क्लबको बैठक बस्नलाई समेत स्थानको अभाव भएको बताउँदै पौडेलले बालक्लबका गतिविधि सञ्चालनका लागि वडालाई सहयोग गरिदिन आग्रह गरे ।











