बाँके, ११ कार्तिक । ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ । सङ्घका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र प्रदर्शनीस्थल बनाउन सरकारबाट १० बिघा जमीन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्राप्त गरेको थियो ।

savahall-001_dwns3OOdvBजग्गा प्राप्त भएसँगै सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । तर सभागृह र प्रदर्शनीस्थल निर्माणको टुङ्गो भने हालसम्म लागेको छैन । तत्कालीन समयमा करीब रु ३५ करोडमा सभागृह र प्रदर्शनीस्थल निर्माण हुने अनुमान गरिएको थियो ।

हालसम्म सङ्घले सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै यसअघि तीन वटा महोत्सव सम्पन्न गरिसकेको छ । जसबाट करीब रु डेढ करोड सङ्कलन भएको छ । तर अहिले पूर्ववत योजनाअनुसार नै सभागृह र प्रदर्शनीस्थल बनाउने हो भने पनि रु ५० करोडसम्म खर्च हुने देखिन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले यहाँका राजनीतिक दलको असहयोगका कारण निर्माणमा समस्या भइरहेको बताए ।“उद्योगी व्यवसायीले मात्रै आवश्यकता महसुस गरेर हुँदोरहेनछ, राजनीतिक सहयोग पनि आवश्यक छ तर यहाँका राजनीतिक दलले आवश्यकता महसुस नगरिदिँदा समस्या भएको छ”, उनले भने ।

बहुउद्देश्यीय सभागृह निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नक्सा तयार भइसकेको बताउँदै केन्द्रीय सदस्य श्रेष्ठले भने, “केही रकम हामीले जम्मा गरिसकेका छौँ, अझै आवश्यक रकम खोजिरहेका छौँ, बाह्य दाताले पनि यसमा सहयोग नगर्ने भएकाले सरकारले नै केही रकम विनियोजन गर्नुपर्ने भएपछि हामीलाई राजनीतिक दलको सहयोग चाहिएको छ ।”

उद्योग वाणिज्य सङ्घलाई प्रदान गरिएको जग्गा सडक विभाग मातहतको भएकाले विभागले जग्गा दिन नमानेका कारण पनि निर्माणमा कठिनाइ भइरहेको उनको भनाइ छ । “जग्गा भोगचलन गर्न सडक विभागलाई आठ कोठे भवन बनाइदिनुपर्ने सम्झौतामा उल्लेख छ, हामी त्यो भवन बनाइदिन तयार भए पनि विभागले नमानेकै कारण समस्या उत्पन्न भएको छ”, उनले भने ।