दाङ, ३१ असार । राप्ती गाउँपालिका ५ पिपरीकी ६३ वर्षिया पदमा ज्ञवाली शरिर दुख्ने , झमझमाउने रोगको उपचार गर्न धेरै पटक बुटवल, नेपालगञ्ज र भारतका अस्पतालसम्म पुगिन । चिकित्सकले उनलाई निरन्तर औषधि खान र चेकअप गराउन सल्लाह दिएका छन् ।

शिविरमा उपचार गराउदै एक महिला
ज्ञवाली खर्चको जोहो गर्दै समयसमयमा टाढाको अस्पतालसम्म पुगेर उपचार गर्दै आएकी थिइन् । तर शनिबार भने उनले ठुला अस्पतालमा पाउने स्वास्थय सेवा आफनो घर नजिकै सञ्चालित स्वास्थय शिविरमा पाईन । ‘शरीर दुख्ने, झमझमाउने बुढेसकालको रोगका लागि बुटवल, नेपालगञ्ज र भारत सम्म पुगेकी थिए ।’ ज्ञवालीले खुसी प्रकट गर्दै भनिन, ‘तर आज घरनजिकै ती अस्पतालमा भेटिने डाक्टर भेट्न पाए । नजिक्कै डाक्टर भेट्न पाउँदा खुसी लागेको छ ।’
शनिबार ज्ञवालीले जस्तै सँयौका सँख्यामा राप्ती गाउँपालिकाका स्थानीयले सिसहनियाँस्थित सर्वोदय माविमा सञ्चालित शिविरबाट स्वास्थय सेवा लिन पाएका छन् । राप्ती गाउँपालिका, सिसहनिया उद्योग बाणिज्य संघ, स्वास्थ्य शिक्षा सचेतना–सामुदायिक स्वास्थ्य संस्था, नव साहसी युवा क्लवको आयोजना र अन्य स्वास्थ्य संस्थाको प्राविधिक सहयोगमा बृहत निस्शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
दुई घण्टाको पैदल हिडेर सिसहनिया झरेकी शेवी बुढाले सिसहनियामा बिशेषज्ञ डाक्टर आएको थाहा पाएपछि उन सकीनसकी सिसहनिया झरेको बताइन ।‘डाक्टर आएको थाहा पाएर आएको हुँ’ उनले भनिन्–‘यति धेरै डाक्टर गाउँमा आएको पहिलो चोटि देखे । अस्पतालमा नै आए जस्तो भो ।’
छैन भरपर्दो स्वास्थय सेवा
स्वास्थय शिविरमा आएका स्थानीयले गतिलो अस्पताल नहुँदा उपचारका लागि बाहिर जिल्लाका अन्य अस्पतालमा जानुपर्ने बाध्यता रहेको बताएका छन् । । ‘देउखुरी प्रदेश ५ को मध्यभाग हो । यहाँ सवै खालका बिरामीहरुको उपचार हुने शिक्षण अस्पतालको खाँचो छ’सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले भने–‘हामिले धेरै अघि बाट यस्तो माग राख्दै आएका छौ तर, सुनुवाइ भएको छैन् ।’
देउखुरीको लमहीमा १५ शैयाको अस्पताल छ तर, बिशेषज्ञ सेवा छैन् ।
प्रयाप्त दक्ष जनशक्ति नहुदा प्राथमिक उपचार मात्रै हुने गरेको छ । लमही नगरपालिका राप्ती, राजपुर र गढवा गाउँपालिका नागरिकहरु बिशेषज्ञ सेवाको लागि शिविर कुरेर बस्नु पर्ने वाध्यता छ । हरेक स्थानीय तहमा सुविधा सम्पन्न बिशेषज्ञ सेवा सहितको अस्पताल संचालनमा आउनु पर्ने समाजसेवी गञ्जबहादुर बिष्टले वताए ।
अस्पताल बनाउने उद्येश्य छ : अध्यक्ष सुबेदी
राप्ती गाउँ पालिकाले सिसहनिया स्वास्थ्य चौकीमा यहि साउन महिना वाट एम.वि.वि.एस. डाक्टर राखेर उपचार सेवा सुरु गर्ने र निकट भविष्यमा सुविधा सम्पन्न अस्पताल बनाउने योजना रहेको राप्ति गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले वताए । ‘बिशेषज्ञ सेवा लिन शिविर कुर्नु पर्ने बाध्यताको अन्त्यको लागि यहाँ अस्पताल बनाउने योजना छ । उनले भने–‘स्वास्थ्य र शिक्षामा हाम्रो प्राथमिकता छ । यस बर्ष विकट बस्तिमा स्वास्थ्य चौकि स्थापना गरि सेवा सुरु गरेका छौ ।’
शिविरमा एक हजार बढीको उपचार
शिविरमा एक हजार बिस जनाले स्वास्थय सेवा लिएका छन् । शिविरमा बरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा प्रदीप जँग केसी ,बरिष्ठ हाडजोर्नी , मेरुदण्ड, नशा रोग एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डा पृकृति राज कंडेल, बरिष्ठ हाडजोर्नी नशा तथा बाथ रोग विशेषज्ञ डा राज कृषण श्रेष्ठ, बरिष्ठ जनरल सर्जरी तथा ल्याप्रोस्कोपिक विशेषज्ञ डा नबिन श्रेष्ठ , छाला यौन तथा कृष्ठ रोग तथा सौन्दर्य विशेषज्ञ निरञ्जन राज भण्डारी ले स्वास्थय उपचार गर्नुभएको आयोजक संस्था हिकोका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।











