काठमाडौँ, २३ बैशाख । सरकारले सिण्डिकेटको पक्षमा लागेर पक्राउ परेका करिब ९३ जना व्यवसायीलाई रिहा हुनका लागि चार बुँदे शर्त अघि सारेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले आइतवार देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई कडा निर्देशन दिँदै चार बुँदे कागजमा सही गर्न तयार व्यवसायीलाई मात्रै रिहा गर्न भनेका हुन् ।
गृहमन्त्री थापाले प्रजिअलाई दिएको निर्देशन अनुसार सिन्डिकेट नमान्नेसहितका चारवटा बुँदासहितको कागजमा सही नगर्ने व्यवसायीमाथि प्रशासनले मुद्दा अघि बढाउने भएको छ। गृहमन्त्रीले प्रजिअहरुलाई दिएको निर्देशनमा यातायात व्यवसायीलाई सरकारले अघि सारेका चार बुँदामा सहमति हुनै पर्ने भनिएको छ ।
जस अनुसार सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु भन्ने उल्लेख गरिएको कागजमा पक्राउ परेका व्यवसायीले हस्ताक्षर गर्नुपर्नेछ । यदि त्यो कागजमा हस्ताक्षर नगरेमा व्यवसायीहरुले कम्तिमा पनि ६ महिनाका लागि जेल जानुपर्नेछ ।











