घोराही २३ बैशाख । पुरुष शौचालयको पिसाव फेर्ने बेशिनमा शुद्धप्लसका खोस्टाहरु थिए । कसले कतिबेला खसालेको हो कसैलाई थाह थिएन । दाङ जिल्ला उद्योग वाणिज्य संघको शौचालय भित्र जाने अबुझ व्यक्ति पक्कै होईन ।
घोराही बजारको एउटा नास्ता पसलको शौचालयको बत्ती बसाल्ने खोपाभरी शुद्ध प्लसका खोल भेटिए । शौचालय सफा गर्नेको नजर नपुगेको जम्मा गरिएका खोस्टाको संख्याले जनाउथ्यो ।
पिसाव फेर्ने बेशिनमा शुद्धप्लसका खोस्टाहरु भेटिन थालेका छन् । शौचालयका प्वाल थुन्ने पनि शुद्धप्लसका खोस्टा नै भएका छन् । शौचालय भित्र रहेका प्वाल तथा ढोकाका खापमा पनि भेटिने गर्छन् । बाहिर फाल्दा कसैले देख्ने र लाज हुने भएपछि सुद्धप्लस खानेहरुले लुकाला क्षेत्रहरु रोज्ने गरेका छन् । शौचालयमा गएर चुरोट खानेहरुले ठुटाहरु फालेका हुन्छन् । त्यसलाई पानीले अलि सजिलै बगाउन र गलाउन सकिन्छ । तर, शुद्धप्लस भने प्यानबाट नछिर्ने भएपछि प्वालमा कोच्न लागेका हुन् ।
घोराही बजारमा सरसफाइ कर्मचारीले भुईको फोहर उठाउदैनन् । टोलवासीहरु पनि सचेत भएका छन् कसैले खत्याउ“दैनन् । सकभर बाहिर फोहर नदेखाउने गरेपछि सार्वजनिक स्थल र सडक क्षेत्र बढार्नेकाममा पनि कमि आएको छ । शुद्धप्लसका खोस्टा भेटिने क्रम भने उस्तै छ ।
तरक्क च्यातेर सानो टुक्रा फरर्र हावामा उडाउने । फाको हालेर रित्तीएको खोल फ्यात्त खसाल्नेहरुलाई अहिले सकस परेको छ । उनिहरु सानो टुक्रा हातमा समात्छन् । रित्तीएको खोस्टा भित्र हाल्छन् । वरपर फाल्ने ठाउ खोज्छन् । कतै डस्टिविन वा अन्य फोहर खसाल्ने क्षेत्र नभेटिएपछि बेसरी बटार्छन् । सानो टुक्रा बनाएर सुईत्त टाढै हुत्याउ“छन् । फाल्दा खेरी कसैले देख्ला भन्ने डरले भएभित देखिन्छन् । उनिहरुले काच्याकुचुक्क पारेर फालेको शुद्धप्लसको खोल विस्तारै फुक्दैर फैलिदै जान्छ । केहि बेरमा पुर्ण खुलेको खोल हावाको वेग संग उड्न थाल्छ ।
सडक क्षेत्रमा सबै भन्दा धेरै प्लाष्टिक शुद्धप्लसका खोस्टा छन् । खेतवारीमा पनि यहि खोस्टाले भरिएको छ । भोला र शुद्धप्लस टिप्दा पनि कठिन हुन्छ । सुईराले घोच्दा पनि टिप्न धौ भएको सेवार खोला नया वसपार्क घोराहीका सरसफाइ निरीक्षक हर्क बहादुर वलीले जानकारी दिनुभयो । ठुलो खोस्टो खुन्टिएपनि सानो चपेरो दुई तिन चोटि भोस्दा पनि सुईरोमा आउदैन । गलामा सरसफाइ निरीक्षकको परिचयपत्र, मुखमा सिठी फुक्दै हिड्ने बुढालाई छल्दै र फाल्दै गर्छन् । पानीका वोतल खसाले बस चालकलाई समाते जस्तै शुद्धप्लस फाल्नेलाई भेटाउन सकिएको छैन । निरीक्षक वलीका अनुसार गुटुमुटु पारेर फाल्नेहरुले नै झुक्याउछन् ।
प्लाष्टिकले विश्वलाई सिध्याउ“छ भनेर चिन्ता गर्न थालिएको छ । प्लाष्टिक जलाएको धुवा“ सुघनु भनेको सिधै क्यान्सरका किटानु प्युनु हो भन्छन् डाक्टरहरु । उनिहरुका अनुसार जस्तो सुकै धुवा पनि खराव हुन्छ । हर्टअट्याक देखि फोक्सो मुटुका थुप्रै समस्या ल्याउछ । प्लाष्टिक झन जलाउनै हुन्न । गाउ बस्तिमा नजलाएर प्लाष्टिक व्यवस्थापन गर्ने उपाए छैन । प्लाष्टिकको दुषित धुवाले ओजन तह प्वालपार्ने खतराका चर्चा पनि भइरहेका छन् । जसले पृथ्वीमा ठुलो असर गर्छ ।
‘अब प्लाष्टिकले ध्वस्त पार्ने भयो’ सरसफाइ अभियान्ता गजेन्द्र बहकरीले भन्नभयो, ‘जमिनमा रुखो बनाउने भयो । आकाशमा दुषित पार्ने भयो ।’ उहाका अनुसार प्लाष्टिक कहिल्यै कुहिन्न । जलाएको खरानी बारीमा हालेपनि रुखो बनाउछ । यत्रो खतराको चिज व्यवस्थापन गर्ने तरीका छैन । जथाभावि प्रयोग हुन्छ र मनपरी फाल्ने गरिएको छ । त्यसले उब्जाउ जमिन बाझोमा परिणत गर्छ । कुनै पनि वोटविरुवा उम्रन दिन्न उम्रिएको लाई पनि फैलिन बाट रोक्छ ।
सरोकार वाला संग पटक पटक छलफलको प्रयास गरेपनि सफल हुन सकेको छैन । लामो समय घोराही नगरपालिकाको वातावरण शाखा सम्हाल्नुभएका अधिकृत सुवोध रेग्मीका अनुसार प्लाष्टिक बेच्नेले अरु कुराको ख्याल गरेका छैनन् । बजारमा प्रतिबन्ध लगाउन खोज्दा व्यापारीका संघ संस्था बाधक हुन्छन् । किसानलाई पनि खेतमा प्लाष्टिक गएपछि बाली नाली नास गर्छ भन्ने ज्ञान छैन । त्यसैले आफुले खाएको सुर्तिको खोल समेत रित्तीएपछ बारीमै खसाल्छन् । भोला र सुद्धप्लस खाने किसानका छोरा छोरी पनि काम गर्नेबेला उतै फाल्छन् । बजारमा फालेको बगाएर खेत बारिमै लैजानछ । आफुलाई बाठो ठान्नेहरुले गुटुमुटु पारेको पनि बातावरणमै फैलिन्छ । अधिकृत रेग्मीका अनुसार खाई सकिएपछि सुर्ति, भोला शुद्धप्लसका पोका गोजीमा हाल्ने र डस्टिविनमा राख्ने बानी नबसाल्ने हो भने सबै चिज सखाप पार्छ । यति बेला मसिना खोस्टाहरुले सबैलाई आतंकित बनाएको छ ।











