केशरमान बुढाथोकी
दाङ २३ बैशाख । दाङको धारापानीमा अबस्थित पाण्डवेश्वर धाम भन्दा करिव २५ सय मिटर उचाइमा अबस्थित देविकोट मन्दिर उत्खनन गर्दा पुर्खाले प्रयोग गर्ने औजार भेटिएका छन् ।
पछिल्लो समय नेपालको एक चर्चित धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित पाण्डवेश्वर मन्दिर व्यावस्थापन समितिको आयोजनामा गरिएको उत्खननमा प्राचीन खड्ग , प्राचीन चिम्टा र प्राचीन प्रचलनमा आएका पैसा ( सिक्का ) भेटिएका छन् ।
बिगतमा एक चर्चित धार्मिक पर्यटकिय स्थलको रुपमा रहेको यस स्थलमा २०२० साल सम्म प्राचिन मन्दिर र पुजनकार्य भएपनि त्यसको संरक्षण हुननसकेपछि अहिले भग्नावशेष मात्र थियो । भग्नावशेष मात्र रहेको मन्दिरको पहिले बाक्लो बस्तीले घेरिएको थियो । त्यस बस्तीका मानिसहरु सुनकोटमा अबस्थित देविकोट मन्दिरमा पुजापाठ गर्ने गरेको पाइन्छ ।

धारापानी धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीका अनुसार सुनकोटमा अबस्थित देविकोट मन्दिर वरपर उहिले बनावासका क्रममा पाण्डवहरुले बन विहार क्रिडास्थलको रुपमा प्रयोग गरेको किंवदन्ती छ । पहिले चुरे पर्वत र महाभारतको फेदीमा बस्ती भएकाले कोट बेशी गर्ने ठाउँको रुपमा पनि सुनकोट रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय धार्मिक तथा पर्यटकिय गन्तव्यको रुपमा स्थापित दाङको धारापानी स्थित सुनकोटमा मन्दिर उत्खननका क्रममा पुराना औजार भेटिएपछि मन्दिर निर्माणको लागि शिलान्यास गरिएको छ । ऐतिहासिक स्थान सुनकोटमा एक कार्यक्रमको आयोजना गरी मन्दिरको शिलान्यास गरिएको हो । धार्मिक पर्यटनको विकास गर्नका लागि धारापानी धामको अझै पर्यटकको आकर्षण बढाउन मन्दिर निर्माण गर्न थालेको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।











