इन्द्रेणी संवाददाता
भक्तपुर, १९ फागुन । आफू मन्त्री भएका वेला केही काम गरेरै चर्चित भएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन् ।

Lalbabu-pandit-650x455भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै पण्डितले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे ।

मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउने बताउँदै “वैशाख १ गतेदेखि हरियो स्टिकर नभएका सवारी साधन चल्न दिइने छैन, ४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ, अब त्यस्तालाई कारबाही हुन्छ,” उनले भने ।

कालो धुवाँ फाल्ने सवारी साधनलाई मात्र होइन, त्यस्ता सवारी साधनलाई हरियो स्टिकर दिएर पास गर्ने कर्मचारीलाई समेत कारबाही गरिने बताउँदै उनले भने– “नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई अब प्रतिबन्ध लगाउने र त्यसको विकल्पमा अर्गानिक झोलालाई प्राथमिकता दिइनेछ ।

मन्त्री पण्डितले वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाउने उल्लेख गर्दै गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारबाहीको दायरमा ल्याउने तयारी गरेको बताए ।