काठमाडौँ, १९ फागुन । संघीय संसद्मा बहुमतमा रहेको वाम गठबन्धनका अध्यक्षहरुले पार्टी एकता र मुलुकको समृद्धिको भावनाका साथ प्रभावकारी रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।

prachanda-kpअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आयोजित नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनीहरुले सुशासन, विकास, समृद्धि र स्थिरताका लागि नयाँ युगतर्फको यात्रामा सामेल हुन आग्रह गरेका हुन ।

नवनिर्वाचित सांसदहरुको शपथ हुने अघिल्लो दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै दलका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुबै पाटी एकता हुने अन्तिम विन्दुमा पुगेको भन्दै जनतालाई शक्तिशाली र एकतावद्ध बनाई विकासका काम अघि बढाउन आफूहरु एक हुन लागेको स्पष्ट गरे ।

आफूहरुले लगाएको पोशाकमा नेपालमा उत्पादन गरेको लत्ताकपडाको त्यान्द्रो समेत नरहेको सन्दर्भ उल्लेख गर्दै उनले प्रशस्त सम्भावना भए पनि मुलुक अल्पविकसित हुने अवस्थाबाट माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाका मनोनित तीन सदस्यका बारेमा सर्र्वोच्च अदालतमा रिट परेपनि उक्त नियुक्तिलाई कसैले रोक्न नसक्ने दाबी गर्दै उनले भने, “कानून पढेर राजनीति गर्ने भगडियाहरुले हालेको मुद्दामा धेरै अल्मलिनु पर्दैन, सरकारको कार्यक्षेत्रमा अदालतबाट हस्तक्षेप नहुने विश्वास लिएको छु ।”

संसद्, अदालत र सडकमा समेत वास्तविक नागरिकता र कागजी नागरिकताबारे विवाद हुनुले नेपाल कुन हालतमा छ, भन्ने संकेत गरेको बताउँदै उहाँले आफूले भाइ भन्दै आएका सदस्य महेन्द्रराय यादवलाई ज्येष्ठ सदस्यबाट सांसदको शपथ लिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो । मुलुक बनाउने सन्दर्भमा प्रतिपक्षलाई समेत साथ लिएर र सम्मान गरेर आफूहरु अघि बढ्ने उद्घोष गर्दै उनले राम्रो र सक्षम मान्छेको खोजीमा सरकार रहने स्पष्ट गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको पृष्ठभूमिमा आफूहरुको संयुक्त संसदीय दलको बैठक भइरहेको र केही दिनमा एउटै संसदीय दल हुने जनाउँदै विकास नहुने भूमरीमा परिरहने राजनीतिलाई त्यसबाट बाहिर निकाल्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरे ।

साझा चुनावी घोषणापत्र र उम्मेदवारका साथ जाँदा डेढमहिनामै जनतालाई एकता पार्न सकिनु आफैंमा विश्वविद्यालय हुनपुगेको बताउदै अध्यक्ष दाहालले भने, “अब हामी राष्ट्रिय पँुजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नेछौँ, एकताको निर्णयले नेपाललाई १०० वर्षपछि जानबाट अघि ल्याएको छ, त्यसकारण हाम्रो एकतालाई जनयुद्धभन्दा ठूलो परिघटनाका रुपमा लिइएको छ ।”रासस