घोराही । दाङमा डाक्टर र ईमरजेन्सी सेवा सहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । लमहीमा रहेको फ्लोरेन्स अस्पताल प्रालीले क बर्गको एम्बुलेन्स सञ्चालनका लागि जिल्ला एम्बुलेन्स सञ्चालन समितिका स्विकृत पाएको हो ।
पछिल्लो समय लमही नगरपालिका ५ बाट विरामीहरुको उपचारमा सकृय रहेको निजि क्षेत्रको अस्पताल फ्लोरेन्सले करिब २० लाख रुपैयाँ खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो ।
जिल्ला एम्बुलेन्स सञ्चालन समितिमा परेको निबेदन अनुसार समितिको सिफारीसमा भन्सार छुट गरि ल्याएको एम्बुलेन्स सञ्चालनका लागि समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र समितिका सदस्य सचिब जनस्वास्थ्य प्रमुख घनस्याम पोख्रेलले विहिबार निरीक्षण गरि स्विकृत दिनुभएको छ ।
उक्त एम्बुलेन्समा डाक्टर सहित ईमरजेन्सी औषधी, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिईने कृत्रिम अक्सिजन, नेबुलाईजर, रक्तचाप जाँच्ने व्यवस्था सहितको सुबिधा रहने अस्पतालका डा. पुष्प भुसालले जानकारी दिनुभयो ।
यस प्रकारको क बर्गको एम्बुलेन्स यस प्रदेशमै पहिलो भएको अस्पतालले दावी गरेको छ । एम्बुलेन्समा डाक्टर र औषधी सहितको व्यवस्था भएपछि विरामीलाई सहज हुने देखिएको छ । साथै अन्य एम्बुलेन्सहरुले लिदै आएको भाडादरमा आफुहरुले सेवा दिने डा. भुसालको भनाई छ ।
